२ नम्बर प्रदेशमा चुनाव नगरेर जनताको अपमान गरियो : उपेन्द्र यादव


संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशमा चुनाव नगरेर सरकारले त्यहाँको जनताको अपमान गरेको बताएका छन्। संविधान संशोधन गरेर सबै प्रदेशमा एकैपटक चुनाव गर्नुको साटो सरकारले २ नम्बर प्रदेशलाई अगल गरेर तेस्रो चरण चुनाव गर्दा त्यहाँका जनताले अपमानित भएको महशुस गरेको यादवको भनाइ छ ।

२ नम्बर प्रदेशलाई निर्वाचनबाट अलग गर्नु नै गलत भएको बताउँदै यादवले यसबाट २ नं. प्रदेशका जनताले राज्यबाट हेपिएको र दुव्र्यवहार गरिएको महशुस गर्न थालेको बताए । संघीय समाजवादी फोरम पाँचथरले सोमबार फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले २ नं. प्रदेशमा तेस्रो चरणमा मात्रै चुनाव गर्ने योजना मुलुकको हितभन्दा पनि मुख्य दलहरूको दाउपेच भएको आरोप लगाए । विगतको आन्दोलनका उपलब्धि संस्थागत गर्नका लागि फोरम चुनावमा सहभागी भएको यादवको प्रष्टिकरण छ ।

२ नं. प्रदेशमा फोरम नै पहिलो शक्ति भएको बताउँदै यादवले फोरमलाई पहिलो शक्ति हुनबाट रोक्न तेस्रो चरणमा चुनाव गर्न लागिएको दाबी पनि गरे । फरक प्रसङ्गमा यादवले संविधान संशोधन विधेयक अघि नबढाउँदा सरकारको नियतमा खोट देखिएको आरोप लगाए । सत्तारुढ दलहरूले इमान्दारितापूर्वक मतदान गरे संशोधन विधेयक पारित हुने बताउँदै यादवले संविधान संशोधन विधेयकले संविधानका प्रावधानसँग असन्तुष्टि जनाइ उत्पन्न भएका समाधानका लागि ट्रयाक खोल्ने बताए । चुनाव सम्पन्न हुँदैमा समस्या समाधन भयो भन्ने भूल नगर्न आग्रह गर्दै यादवले संविधान संशोधन बिना मुलुक अघि बढ्न नसक्ने बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.