प्रतिनिधि सभा निर्वाचनमा महिला–महिलाबीच प्रतिष्पर्धा हुने कानूनी व्यवस्था गर्न माग

प्रतिनिधि सभा निर्वाचनमा महिला–महिलाबीच प्रतिष्पर्धा हुने कानूनी व्यवस्था गर्न माग


महिला सांसदहरुले प्रतिनिधि सभा निर्वाचनमा महिला–महिलाबीच प्रतिष्पर्धा हुने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

व्यवस्थापिका संसद राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनीहरुले महिला र पुरुषबीच हुने प्रतिष्पर्धाले महिलाहरुलाई न्याय नगर्ने पनि स्पष्ट पारेका छन् । समितिको आइतबार बसेको बैठकमा ‘प्रतिनिधि सभा सदस्यहरुको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ माथिको छलफलमा भाग लिँदै सांसद सिता गिरी ओलीले महिला–महिलाबीच प्रतिष्पर्धा हुने कानूनी व्यवस्था गर्न विधेयक संशोधन गर्न सरकारसँग माग गरिन् ।

समितिकी सदस्य डा. आरजु देउवा राणाले प्रत्यक्ष निर्वाचनमा लड्न महिलाहरु पनि समक्ष भएको उल्लेख गर्दै महिला– महिलाबीच प्रतिष्पर्धा हुने गरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नु परेको बताईन् । उनले संविधानमा १ तिहाई महिला सदस्य प्रतिनिधि सभामा निर्वाचित गराउनुपर्ने व्यवस्थालाई कार्यान्वयनमा लैजान पनि महिला–महिलाबीच प्रतिष्पर्धा गराउने गरी कानूनको व्यवस्था गर्न जोड दिइएको पनि स्पष्ट पारे ।

समितिकी अर्की सदस्य गौरी कुमारी ओलीले महिलाहरुलाई ४० प्रतिशत आरक्षण सिटको व्यवस्था गर्नुपर्ने माग पनि गरिन् । उनले महिला महिलाबीच हुने प्रतिष्पर्धाले प्रतिनिधि सभामा महिलाहरुको बलियो उपस्थिति हुने भएकाले सोही अनुसारको कानूनी व्यवस्था गर्न पनि माग गरिन् ।

नयाँ संविधानमा प्रतिनिधि सभामा कम्तीमा १ तिहाई महिला सदस्य हुनैपर्ने व्यवस्था छ । महिला सांसदहरुले सो संवैधानिक व्यवस्थालाई कार्यान्वयनमा ल्याउन पनि महिला महिलाबीच प्रतिष्पर्धा हुनेगरी गरी विधेयक संशोधन गर्न सरकारसँग माग गरेका हुन् ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.