व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले स्वच्छ र स्वस्थ दूध तथा दूधजन्य वस्तु बजारमा पठाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले स्वच्छ तथा स्वस्थ दूध तथा दूधजन्य वस्तु बजारमा पठाउन पशुपंक्षी विकास मन्त्रालयलाई सचेत गराएको हो । दूध तथा दूधजन्य वस्तुमा अखाद्य वस्तु मिसावट भएको पाइएपछि समितिले त्यसमा शुद्धता कायम गर्न सरकारलाई पुनः निर्देशन दिएको हो । दूध तथा दूधजन्य वस्तु स्वच्छ र स्वस्थ बनाएर बजारमा पठाउन सरकारलाई पुनः निर्देशन दिनु परेको समितिका सभापति मोहनप्रसाद बरालले जानकारी दिए ।
समितिले खाद्य प्रविधि तथा गुणस्तरसम्बन्धी कानूनमा कमजोरी भए त्यसमा सुधार हुने गरी संशोधन गर्न पनि सरकारलाई निर्देश गरेको छ । बैठकमा बोल्दै पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुले उपभोक्ता र किसानलाई मारमा नपार्ने गरी दूध तथा दूधजन्य वस्तु बजारमा पठाउन सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री थारुले दूध तथा दूधजन्य वस्तुको विक्री वितरणबाट मुलुकलाई आत्मनिर्भर बनाउन सरकार लागि परेको पनि दाबी गरे । पशुपंक्षी विकास मन्त्रालयले किसानलाई मारमा नपार्ने गरी दूधको उत्पादन लागत निकाल्ने तयारी पनि गरेको छ ।