चुनावमा जाने विषयमा राजपामा विवाद, केन्द्रीय समितिमा छलफल शुरू

चुनावमा जाने विषयमा राजपामा विवाद, केन्द्रीय समितिमा छलफल शुरू


असोज २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुने कि नहुने लगायतका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टीको केन्द्रीय समिति बैठक शुरू भएको छ।

आइतबार दिउँसो शुरू भएको बैठकमा स्थानीय चुनावमा सहभागिता नै सबैभन्दा पेचिलो विषय बन्ने छ।

नेता केशव झाले आफ्ना मुद्धा लिएर चुनावमा जानुपर्ने अधिकांश नेताहरूको धारणा रहेको दाबी गरे।

बैठक शुरू हुनै लाग्दा सेतोपाटीसँग कुरा गर्दै उनले भने,’अधिकांश नेताहरूको धारणा अब चुनावमा जानु पर्छ भन्ने छ। केन्द्रीय समितिले यो विषयमा निर्णय लिन्छ।’

अर्का नेता जितेन्द्र सोनलले भने यथास्थितिमा चुनावमा जान सकिँदैन भन्ने नै पार्टीको लाइन भएको बताए। खासगरी संविधान संशोधन नभई चुनावमा जान नसकिने उनको भनाइ छ।

‘यथास्थितिमा चुनावमा जान सकिँदैन भन्ने नै पार्टीको आधिकारीक लाइन हो,’ सोनलले भने, ‘संविधान संशोधन नभई कसरी चुनावमा जान मिल्छ?पार्टी यही लाइनमा यथावत रहन्छ।’

चुनावमा जाने कि नजाने भन्ने विषयलगायका प्रश्नहरूको हल खोज्दै पार्टीको अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। उनको प्रतिवेदनका आधारामा केन्द्रीय समितिले यो विषयमा छलफल गर्ने छ।

शुक्रबार सकिएको पदाधिकारी बैठकका आधारमा राजनीतिक प्रतिवेदन तयार गर्ने जिम्मेवारी संयोजक ठाकुरले पाएका थिए।

चार दिनसम्म चलेको पदाधिकारी बैठक चुनावमा सहभागिताका विषयमा कुनै निष्कर्षमा नपुगी सकिएको थियो। बैठकमा केही नेताहरू संविधान संशोधन नभएपनि आफूले उठाएका मुद्धा लिएर जनतमा माझ जानुपर्ने धारणा राखेका थिए। केही नेताहरू भने संविधान संशोधन नभई कुनै हालतमा चुनावमा जान नहुने पक्षमा थिए।

पदाधिकारी बैठकले निष्कर्ष निकाल्न नसकेपछि केन्द्रीय समिति बैठकमा यो विषय विवादीत रूपमा नै आइपुगेको छ।

केन्द्रीय समिति बैठकमा पार्टीको विधानको विषयमा पनि छलफल हुने नेता झाले जानकारी दिए। विधानको विषय पनि केन्द्रीय समितिका लागि जटिल विषय हुने छ।

विभिन्न छवटा पार्टी एकिकरण भएर बनेको राजपामा नेतृत्व व्यवस्थापन चुनौतिपूर्ण छ। नेतृत्वकै विषयलाई लिएर नारायणी नदी पश्चिमका केही नेताहरूले पदाधिकारी बैठक बहिष्कार गरेका थिए।

पार्टीका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला, उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला,महामन्त्री वृजेश गुप्ता लगायतका नेताहरूले बैठक बहिष्कार गरेका थिए।

उनीहरू आजबाट शुरू भएको केन्द्रीय समिति बैठकमा भने सहभागी भएको नेता जितेन्द्र सोनलले जानकारी दिए।

अहिले पार्टीमा ६ दलका १ सय ३४ जना पदाधिकारी छन्। यी सबैलाई व्यवस्थापन गरेर चुस्त नेतृत्व हुने व्यवस्था विधानमा गर्नुपर्ने भएकाले यो विषयमा पनि केन्द्रीय समितिका लागि पेचिलो विषय हुने छ।

आजबाट शुरू बैठकमा पार्टी सञ्चालनको नियमावली पनि छलफल गर्ने कार्यक्रम रहेको नेता झाले जानकारी दिए।

राजपाको केन्द्रीय समितिमा ८ सय १५ सदस्य छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.