जनताले मलाई नै चुनेका थिए, राज्यले रेणुलाई मेयर बनायो: देवी ज्ञवाली


भरतपुर महानगरको मेयरमा एमालेका उम्मेदवार देवी ज्ञवालीले सम्पूर्ण राज्य लागेर आफूलाई हराएको प्रतिकृया दिएका छन्। भरतपुर महानगरमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दहालले जितेको भोलिपल्ट सेतोपाटीसँग कुरा गर्दै ज्ञवालीले भने, ‘म दशौँ हजार मतले हारेको हैन २ सय ३ मत मेरो भन्दा बढी रेणुको आएको छ। रेणुलाई मेयरको कुर्चिमा बसाउन निर्वाचन आयोग, सरकार, अदालत सबै लागे।’

अघिल्लो पटक जनताले आफूलाई जिताए पनि यसपटक आफू विरुद्ध षड्यन्त्र गरेर रेणुलाई जिताइएको उनले जिकिर गरे।

अघिल्लो पटक मतपत्र च्यातेर तपाईद्लाई अन्याय भएको भए पनि यसपालि जनताले रेणुलाई मत दिएर जिताएको त पक्का हो नि भन्ने सेतोपाटीको प्रश्नमा ज्ञवालीले भने, ‘उहाँले जति मतले जित्नुभयो त्यति मतकै लागि त राज्यले यत्रो षड्यन्त्र गरेको हो।’

रातारात पैसा बाँड्ने, भोट किन्ने लगायतका हतकण्डा गरेर मात्र रेणुले जितेको पनि उनको आरोप छ।

‘स्थानीय प्रशासनले उनीहरुलाई सहयोग गर्‍यो। यहाँ त अझ विदेशी खुपिया समेत रेणुलाई जिताउन संलग्न थिए। यति गर्दा गर्दै पनि हामीलाई जनताको राम्रो भोट आएको छ,’ उनले भने,’जतनाको मन जित्ने विजयी हुने हो, त्यो हामीले जितेका छौँ।’

चुनावमा हारे पनि आफू भरतपुर र चितवनकै जनताको निमित्त काम गर्ने उनले बताए।

‘म राजनीतिमै हुन्छु। जिन्दगी भरी मैले चितवन र यहाँको जनताको हितकै लागि काम गर्छु,’ उनले भने।

पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना क्रममा भरतपुर १९मा माओवादीले मतपत्र च्यातेपछि त्यहाँ पुन: मतदान भएको थियो।

भरतपुरमा रेणु दहालले ४३ हजार १ सय २७ ल्याएर मेयर पद जितेकी थिइन्। उनका निकटतम प्रतिद्वन्द्वी देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत ल्याएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.