भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल विजयी भएकी छन्। भरखरै सार्वजनिक अन्तिम मतपरिणामअनुसार उनले ४३ हजार १२७ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे। दाहालभन्दा ज्ञवाली २०३ मतले पछाडि परेका हुन्।
मतगणनाको सुरुआतदेखि नै अग्रता कायम गरेका ज्ञवाली वडा नं २० को मतगणना भइरहँदा पछाडि परेको थिए । वडा नं २० को गणना अन्तिममा गरिएको थियो । यस्तै, राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत प्राप्त गरेका छन्।
यसैगरी, भरतपुर महानगरपालिकाको उपप्रमुख पदमा काँग्रेसकी पार्वती शाह विजयी भइन्। उनले ४७ हजार १९७ मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरे। यस्तै, राप्रपाकी उपप्रमुख उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गरिन्।
भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा काँग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन ।
प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन्।
पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नं वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए जसका कारण भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि गन्न बाँकी २० नं वडाको पनि गणना भएको थिएन । उक्त मत पनि आज गणना गरिएको हो ।
एमालेले तत्काल मतगणना सुरु गर्न माग गरेको थियो भने गठबन्धनमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रले सो वडामा पुनः मतदान गराउन माग गरेका थिए । निर्वाचन आयोगले पनि मतदानकै पक्षमा निर्णय गरेको थियो । जुन निर्णयका विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा परेको थियो । सर्वाेच्च अदालतले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो । अदालतबाट आदेश आएसँगै भरतपुर–१९ मा पुनः मतदान भएको हो ।
पुनः मतदानबाट काँग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई फाइदा पुगेको छ । भरतपुर–१९ को मतपत्र च्यातिएपछि कांग्रेस–माओवादी केन्द्र गठबन्धनले संयुक्तरुपमा चुनाव प्रचारप्रसार गरेर अभियान नै चलाएका थिए । महानगरमा एकलाख ५० हजार २७४ मतदाता थिए ।
विजयी भएपछि प्रतिक्रिया दिँदै प्रमुख दाहालले भरतपुरलाई समृद्ध, व्यवस्थित र नमूना महानगर बनाइने बताइन्। जुन दलबाट उम्मेदवार भए पनि अब आफू साझा भएको भन्दै उनले समृद्ध महानगर बनाउन सबै दलसँग हातेमालो गरेर अघि बढ्ने बताइन्। प्राकृतिक सम्पदाले धनी महानगरका स्रोतसाधनको अधिकतम उपयोग गरी विकास निर्माणलाई तीव्रता दिइने उनको भनाइ थियो ।
उपप्रमुखमा विजयी शाहले देशको मध्यभागमा रहेको महानगरलाई न्याय र समानताका लागि चिनाउने बताइन्। महानगरमा प्रमुख र उपप्रमुख दुवैमा महिला विजयी भएको भन्दै उनले महिला हक अधिकारका लागि कोही वञ्चित हुनु नपर्ने बताइन्।