भरतपुर महानगरपालिका १९ नम्बर वडाको मत गनिसक्दा देवी ज्ञवालीले अघिल्लो पटक पाएको मत पनि सबै सुरक्षित गर्न सकेनन्। यता रेणु दाहालले कांग्रेसका ‘रूष्ट’ मत र एमालेका पनि केही मत तान्न सफल भइन्।
१९ नम्बर वडामा नेपाली कांग्रेसको प्यानललै विजयी भएको छ। नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार कर्णबहादुर गुरूङले १४७६ मत पाएर विजयी भए भने एमालेका प्रकाश तामाङले १०९७ मत पाएका छन्।
यहाँ एमालेका वडाध्यक्षले पाएको मत भन्दा एमालेका मेयर देवी ज्ञवालीले पाएको मत १३१ कम हो। यही वडाबाट देवीले ९६६ मत पाएका छन्।
यस्तै नेपाली कांग्रेसका वडाध्यक्षको भन्दा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ५३ मत बढी पाएकी छन्। उनले यो वडाबाट १५२९ मत पाइन्।
यसअघि वडाध्यक्षमा कांग्रेस र माओवादीलाई मत हालेका १६१ मतदाताले रेणुलाई मत दिएका थिएनन्।
वैशाख ३१ को चुनावमा वडा नम्बर १९ को १८ सय मत गन्दा देवी ज्ञवालीले पाएको मत र वडाध्यक्षका एमाले उम्मेद्वारले पाएको मत लगभग बराबर थियो। १८ सय मतमा ज्ञवालीले ६ सय ६१ मत पाएका थिए भने वडाध्यक्षका उम्मेदवार तामाङले ६ सय ५५ मत पाएका थिए।
यस अर्थ कांग्रेसको वडाध्यक्षलाई मत दिएका कतिपय मतदाताले देवी र रेणु दुवैलाई भोट दिएका थिएका थिएनन्।
यसपाली भने कांग्रेसका ती रूष्ट मत मात्र रेणुले आफ्नो पक्ष फर्काइनन् एमालेका पनि केही मत तानिन्। यसरी उनले १९ वडाबाट मात्र १५२९ मत ल्याइन् भने देवीले ९६६ मत पाए। जबकी अघिल्लो पटक १८ सय मत गन्दानै देवीले ६६१ मत पाएका थिए।
यसरी रेणुले १९ नम्बर वडामा यसपालीको मतदानमा आफ्नो पक्षमा मत धेरै मत बढाएको भए पनि यो वडाको मत गनिसक्दा उनले देवीसँगको अन्तर पूर्ति गर्न सकिनन्। १९ नम्बर वडाको मत गन्नुअघि देवी र रेणुको अग्रता ८६४ थियो। अहिले १९ नम्बरको गनिसक्दा यो अन्तर २२१ मा झरेको छ। अब २० नम्बर वडाको मात्र मत गन्न बाँकी छ।
यो अन्तर पनि पूर्ति गरेर जित्नका लागि रेणुले २० नम्बर वडामा भर पर्नुपर्नेछ। २० नम्बर वडाको मत अघिल्लो पटक पनि गनिएको थिएन। त्यो वडामा कसको कति मत छ भन्ने थाहा छैन। कांग्रेस र एमाले दुबै पार्टीले २० नम्बर वडामा आ-आफ्नो पकड रहेको दाबी गर्दै आएका छन्।
के रेणु दाहालले भरतपुर-१९ मा परिणाम उल्ट्याउलिन्?