नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको आज मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ । गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा आज अपराह्न भर्ना भएका पूर्वप्रधानमन्त्री डा भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए।
डा बर्माले भने, “पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि मेरो निगरानीमा औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो ।” अस्पतालमा चार दिनसम्म उपचार गराएपछि उनलाई घर पठाइने अस्पतालले जनाएको छ ।
भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार डा. भट्टराई ६–सात महिनादेखि ‘प्रोस्टेट’ समस्याबाट पीडित थिए। चिकित्सकको सल्लाह अनुसार शुक्रबार बिहान नौ बजे अस्पताल भर्ना भएका भट्टराईको साँझ ४ बजे शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो।
भट्टराईकी छोरी मनुसी यामी भट्टराईका अनुसार डा. राकेश बर्माको टोलीले शल्यक्रिया गरेको हो। मनुसीले शल्यक्रिया सफल भएपछि सामाजिक सञ्जाल फेसबुकम मार्फत् अस्पताल परिवारलाई धन्यवाद दिएकी छिन्।