एमाले उम्मेदवार देवी ज्ञवाली ८ सय ६६ मतले अगाडि थिए, जब माओवादी प्रतिनिधिले भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातेर गणना बिथोले।
झन्डै दुई महिनाको अन्योलपछि भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको छ। अब ज्ञवाली र माओवादी–कांग्रेस गठवन्धनकी रेणु दाहालमध्ये भरतपुरको मेयर हुने सम्भावना दुवैको बराबर छ। उपमेयरमा भने दुविधा छैन। औपचारिक घोषणा हुन बाँकी भए पनि कांग्रेसकी पार्वती शाह विजयी भइसकेकी छन्।
भरतपुर महानगरका दुई वडामा गरी झन्डै ६ हजार मत गन्न बाँकी छन्, जबकि शाहले आफ्ना निकट प्रतिद्वन्द्वीलाई योभन्दा बढी मतअन्तरले उछिनेकी छन्।
मतपत्र च्यातिनुअघिसम्म शाहले ४४ हजार ७९ मत पाएकी छन् भने निकट प्रतिद्वन्द्वी एमालेकी दिव्या शर्माले ३७ हजार ६ सय ८० मत पाएकी छन्।
तथ्यांकका आधारमा विजयी भइसक्दा पनि गणना रोकिएपछि औपचारिक घोषणा हुन पाएन। उनको उपमेयर पदस्थापन थाती रह्यो।
हुन त भरतपुरकी ‘डेपुटी मेयर इन वेटिङ’ शाह पदस्थापनको निम्ति मात्र होइन, टिकट पाउँदा पनि पुछारमा परेकी थिइन्।
कांग्रेसको पकड राम्रो भएको भरतपुर महानगरपालिकामा मेयर र उपमेयरका आकांक्षी धेरै थिए। मेयरमा ३५ र उपमेयरमा १५ जनाले टिकट पाउने अपेक्षा गरेका थिए। उनीहरूबीच एउटा भद्र सहमति थियो– जसले टिकट पाउँछ, उसलाई बाँकी सबै आकांक्षीले सघाउने।
आकांक्षी धेरै भएकैले हुनसक्छ, नेपाली कांग्रेसले अरू सबै महानगरको उम्मेदवार टुंगो लगाइसक्दा पनि भरतपुर थाती थियो।
मनोनयन दर्ता गर्ने दिन अर्थात् वैशाख १९ गते शाह भक्तपुरमा थिइन्। पार्टीले उनलाई सानेपा बोलायो। उनी जाँदै थिइन्, त्यही बेला फेरि एयरपोर्ट जानू भन्यो। उनी उतै गइन्। र, त्यहाँबाट हेलिकप्टरमा भरतपुर।
यसबीच उनले भरतपुर उपमेयरको टिकट पाइसकेकी थिइन्।
‘म र मेयर उम्मेदवार दिनेश कोइरालाले उम्मेदवारी दर्ता गर्दा पार्टी कार्यकर्तामा ठूलो उत्साह थियो। हामीले मिलेर घोषणापत्र बनाएका थियौं,’ उनले सेतोपाटीसँग भनिन्, ‘जब पार्टीले माओवादीलाई मेयरमा समर्थन गर्ने निर्णय गर्यो, त्यसपछि त हामी बाहिर निस्कने अवस्थै रहेन।’
महिला संघ चितवनकी अध्यक्ष रहेकी शाह भरतपुरका २९ वडामध्ये १४ वडामा मात्र मत माग्न जान पाएको बताउँछिन्। पार्टी कार्यकर्ताको असन्तुष्टि र चुनाव प्रचारमा कम समय दिन पाएकाले मत कम आएको उनको भनाइ छ। ‘म र रेणुजी त दुई दिन मात्र मिलेर घुमेका थियौं, कति ठाउँमा असन्तुष्टि थियो,’ उनले भनिन्, ‘छोटो समय भएकाले यस्तो नतिजा आएको हो, नत्र हाम्रो मत राम्रो आउने थियो।’
गठवन्धन नहुँदा पनि आफू १५–१६ हजार मतअन्तरले विजयी हुने शाहको आकलन थियो। माओवादीसमेत जोडिन आइपुग्दा योभन्दा बढी मतअन्तरले विजयी हुने उनले आस गरेकी थिइन्।
‘कांग्रेसहरूमा आवेग आएर मेरो मत कम आएको हो,’ उनले भनिन्।
मिसन वडा नम्बर १९पछिल्लो दुई महिना अवधिमा शाहले मेयर उम्मेदवार रेणु दाहाललाई १९ नम्बर वडाका सबैजसो घर घुमाएकी छन्। सबै मतदातलाई भेटाएकी छन्। यसले रेणु पनि कांग्रेसकै उम्मेदवार हो भन्नेमा स्थानीय मतदाताको विश्वास बढेको उनी बताउँछिन्। १९ नम्बर वडामा ८० प्रतिशत जनता कांग्रेस समर्थक रहेको उनको दाबी छ।
‘मैले मात्र जितेर हुँदैन, दुई जनै जितियो भने बल्ल दुई दिदी–बहिनी मिलेर महानगरमा काम गर्न सकिन्छ,’ भरतपुरकी यी ‘डेपुटी मेयर इन वेटिङ’ ले भनिन्, ‘मैले मात्रै जितेँ भने हाम्रो सपना पूरा हुँदैन।’
‘हिजोको दिनमा कांग्रेस समर्थकहरूले रिसाएर मत दिनुभएन, त्यतिबेला माओवादीलाई भोट हाल्ने ट्रेन्ड नै बसेको थिएन। केन्द्रमा गठबन्धन भए पनि जनताको तहमा कार्यगत एकताको यो पहिलो प्रयास थियो। न माओवादीले पूर्ण रूपमा मलाई मत दिए न त कांग्रेसले माओवादीलाई,’ शाहले भनिन्।
यसपालि भने १९ नम्बर वडामा तीन हजार हाराहारी मत खस्ने उनको अनुमान छ। त्यसमध्ये दुई हजारभन्दा बढी मत आफूहरूले पाउने विश्वास उनले व्यक्त गरिन्। ‘यो वडाको मतगणना सकिँदा रेणु दाहालको अग्रता रहन्छ,’ उनले भनिन्, ‘वडा नम्बर २० को बाकस नखोल्दै हामी लिड गर्नेछौं।’
बधाई र कामको लागि आग्रहशाहलाई उपमेयरमा विजयी भएको भन्दै पार्टी कार्यकर्ता र अन्य शुभचिन्तकबाट बधाईको ओइरो लागिसकेको छ। भेट्न आउने र फेसबुक, फोन, एसएमएसमा शुभकामना दिनेहरू उत्तिकै छन्। चिनेजानेकाहरू उनलाई उम्मेदवार होइन, विजयी उपमेयर भनेर बोलाउन थालिसकेका छन्।
‘कांग्रेसका साथीहरूले त मलाई तपाईं उपमेयर होइन, मेयर नै हो भनेका छन्,’ उनले आफ्ने अनुभव सुनाइन्, ‘कतिपय कार्यक्रममा उपमेयरका रूपमा प्रमुख अतिथि बन्न निम्तोधरि आउँछन्।’
यति मात्र होइन, अन्तिम नतिजा नआउँदै उपमेयरका रूपमा सम्मान थाप्न पनि निम्तो आइरहेको उनले बताइन्। त्यस्ता निम्तो टार्न उनी आफूले कार्यभार सम्हाल्न बाँकी रहेको जवाफ दिन्छिन्। तै शुभेच्छुकहरू मान्दैनन्।
स्थानीय स्तरका काम र गुनासा लिएर आउनेहरू पनि उत्तिकै रहेको शाहको अनुभव छ।
‘गिटीबालुवाको फाइल यो ठाउँमा पुगेको छ, भन्दिनुपर्यो भनेर आउँछन्,’ उनले भनिन्, ‘कतिपयले पनि फाइल सदर गर्न कार्यकारी अधिकृतलाई भन्दिनुपर्यो भन्दै फोन पनि गर्छन्।’
यसरी काम र गुनासो लिएर आउनेहरूलाई भरतपुरकी ‘डेपुटी मेयर इन वेटिङ’ को जवाफ हुन्छ, ‘म पहिला औपचारिक रूपमा कार्यभार सम्हाल्छु, त्यसपछि काम गरौंला।’
उनको यो जवाफ पूरा हुन अब धेरै दिन बाँकी छैन।