आयल निगम जग्गा खरीद प्रकरणमा दोषीलाई तुरुन्तै कारबाही गर्छु : मन्त्री मण्डल


आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरीद प्रकरणमा अनियमितता भएको पाइए दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री मण्डलले आयल निगमको जग्गा खरीदमा कमीकमजोरी र व्यापक प्रश्न उठेको उल्लेख गर्दै संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि र उक्त खरीद प्रक्रियामा अनियमितता पाइए दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने बताएका हुन् ।

उनले भने,‘जग्गा खरीद प्रकरणमा यदि अनियमितता भएको पाइए र संसदीय समितिले अनियमितता भएको प्रतिवेदन दिन्छ भने म एक मिनेट पनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारबाही गर्छु ।’

मन्त्री मण्डलले खरीद प्रक्रियामा अनियमितता पाइए दोषीमाथि कारबाही गर्न आफू पूर्ण प्रतिबद्ध रहेको विश्वास दिलाए । उनले भने,‘दोषी देखिए म एक मिनेट पनि ढिलाई नगरिकन कारबाही गर्छु, म कसैको दबाब, हस्तक्षेप स्वीकार गर्ने वाला छैन, कारबाही गरेरै छाड्छु।’
यद्यपी उनले जग्गा खरीद गर्ने नीतिगत निर्णय भएको उल्लेख गर्दै भने,‘तेल भण्डारणको लागि जग्गा खरीद गर्ने नीतिगत निर्णय भएको हो, तर यहाँ नियत र प्रक्रियाको कुरा महत्वपूर्ण छ, खरीद गर्ने नाममा अनियमितता र दुरुपयोग भएको पाइए दोषीमाथि तत्काल कारबाही हुन्छ ।’

त्यस्तै उनले उक्त प्रकरणबारे सत्यतथ्य जतिसक्दो चाँडो बाहिर ल्याउनको लागि मिडियाले संसदीय छानबिन समिति र सार्वजनिक लेखा समिति तथा अर्थ समितिलाई मिडियाले दबाब दिनुपर्ने समेत सुझाए । उनले आक्रोश पोख्दै भने,‘कुरा धेरै नगरौं, अब काम गरौं, त्यसैले यसबारेमा सत्यतथ्य बाहिर ल्याउनको लागि छानबिन समितिलाई मिडियाले दबाब दिनुहोस्, छानबिनको प्रतिवेदन बाहिर आएपछि काम गर्न सजिलो हुन्छ।’

उनले जग्गा खरीदका लागि टेण्डर आह्वान प्रक्रियाबारे मन्त्रालयका सचिव र आयल निगमका पदाधिकारीसँग थप छलफल गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउनको लागि यसअघि नै निर्देशन दिइसकेको जानकारी दिए ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि खरीद गरिएको जग्गामा ठूलै आर्थिक अनियमितता भएको पाइएपछि संसदीय समितिहरुले यस सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढाएका छन् । विचौलियामार्फत ठूलै कमिशन लिएर जग्गा खरीद गरेको पाइएको पनि संसदीय समितिको आरोप छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.