सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर महानगरपालिका वडा नम्वर १९ मा शुक्रबार पुनः मतदान सुरू भएको छ ।लगातारको वर्षा भए पनि मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ। वर्षाले पुनः मतदानलाई निकै नै प्रभावित पारेको छ ।
वडा नं १९ मा ३ हजार ८ सय ९७ मतदाता छन् । यसअघि वडा नं. १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।
वडा नम्वर १९ मा ३ वटा मतदानस्थल तय गरिएको छ, जहाँ ६ वटा मतदान केन्द्र रहेका छन् । शुक्रबार हुने चुनावको लागि सुरक्षा व्यवस्थामा कडाई गरिएको छ। एउटा वडामा मात्रै एक हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ४६१, सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएको बताए।
भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ मतदाता छन्।
गएको जेठ १४ गते राति गणनाका क्रममा माओवादी प्रतिनिधिले मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले गएको आइतबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो ।
भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार, एमालेका प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गरेका थिए भने माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेकी थिइन्। महानगरको वडा नम्वर २० को ३ हजार ३ सय २ मत गणना गर्न बाँकी नै छ।