१६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय व्यवस्था गर्न सरकारसँग माग


सांसदहरुले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सांसदहरुले बराबरी मत ल्याउने उम्मेदवारलाई गोलाप्रथा गरी विजयी बनाउने कानूनी व्यवस्था खारेज गर्न पनि सरकारलाई सचेत गराएका छन् । बिहिबार व्यवस्थापिका संसदको राज्य व्यवस्था समिति बैठकमा ‘प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ माथिको छलफलमा भाग लिँदै सांसद रामनारायण बिडारीले बराबरी मत ल्याउने उम्मेदवारलाई गोलाप्रथाद्धारा विजयी बनाउने कानूनी व्यवस्था खारेज गर्न माग गरे । उनले विधेयकमा सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने व्यवस्था गर्न पनि सरकारसँग माग गरे । त्यसैगरी, सांसद शान्त मानवीले महिलाहरुलाई दिइने आरक्षणमा समानुपातिक मात्रै नभई समावेशी शब्द पनि उल्लेख गर्नुपर्ने माग गरे।  उनले  कमजोर समुदायका महिलाको प्रतिनिधि सुनिश्चित गराउन पनि समावेशी शब्द नछुटाउन पनि सरकारको ध्यानाकर्षण गराईन् ।

बैठकमा सांसद केशरी घर्तीले निर्वाचनमा महिलाहरुको ३३ प्रतिशत नभई ५० प्रतिशत समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने माग गरिन् । उनले ३३ प्रतिशत प्रतिनिधित्वको सवालले महिलाहरुको अधिकार सुनिश्चित नहुने दाबी गरिन् ।

सांसदहरुले निर्वाचनको मिति तोक्ने अधिकार सरकारसँगको परामर्शमा निर्वाचन आयोगलाई नै दिने व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् । विधेयकमा निर्वाचनको मिति तोक्ने अधिकार सरकारलाई दिने उल्लेख गरिएको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.