‘प्रदेश नम्बर २ को निर्वाचनअघि नै संशोधन प्रस्ताव पारित हुन्छ’

‘प्रदेश नम्बर २ को निर्वाचनअघि नै संशोधन प्रस्ताव पारित हुन्छ’


खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित हुने बताएका छन् । राजधानीमा अायोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने,‘निर्वाचन अघि नै संशोधन प्रस्ताव पारित हुन्छ, सरकारले अहिले प्रस्ताव पारित गराउनको लागि गम्भिर पहल गरिरहेको छ, हामीले इमानदार रुपमा  प्रयास गरिरहेका छौं।’ यद्यपी उनले प्रस्ताव पारित नभएपनि मधेशमा हुने चुनाव कुनै पनि हालतमा नरोकिने जिकिर गरे ।

मन्त्री यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कारणले प्रस्ताव पारित नभएपनि प्रदेश नम्बर २ मा हुने असोज २ गतेको निर्वाचन कुनै पनि हालतमा नरोकिने जिकिर गरे । उनले भने,‘कांग्रेसले शुद्ध मनले संशोधन प्रस्ताव पारित गराउन होमवर्क गरिरहेको छ, हामीले इमानदार प्रयास गर्दागर्दै पनि प्रस्ताव पारित भएन भने चुनाव चाहीँ रोकिँदैन्।’

त्यस्तै उनले संशोधन प्रस्ताव पारित गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरिरहेको समेत जनाए । उनले भने,‘प्रस्ताव पारित गराउन प्रधानमन्त्री स्वयम आँफैले पहल गरिरहनुभएको छ, सबै दलसँग कुरा भैरहेको छ।’ राजपा नेपाल पनि लोकतान्त्रिक शक्ति भएकोले महत्वपूर्ण उपलब्धिहरुको रक्षा गर्न उसले पनि गम्भिर पहल गर्नुपर्ने उनको भनाइ थियो ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.