ढुक्क हुनुहोस्, पुसभित्र मेलम्चीको खानेपानी काठमाडौंमा आइपुग्छ : मन्त्री यादव


खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले मेलम्चीको खानेपानी यही पुसभित्र काठमाडौंमा आइपुग्ने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुराको जानकारी गराएका हुन् ।

यसअघि असोजभित्रै मेलम्चीको खानेपानी काठमाडौंमा आउने भनिएता पनि प्राविधिक कारणले आउन नसकेको उनले बताए । उनले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउनेछन्, हामीले असोजभित्रै ल्याउने भनेका थियौं, तर केही प्राविधिक समस्याका कारण संभव भएन, अब पुसको पहिलो हप्ताभित्रै ल्याउने रणनीति बनाएका छौं, ढुक्क हुनुहोस् डिसेम्बरभित्र हामी काठमाडौंमा मेलम्चीको पानी ल्याएरै छाड्छौं ।

यसका साथै, यादवले मेलम्चीको पानी काठमाडौंवासीहरुमाझ ल्याउने स्वर्गीय कृष्णप्रसाद भट्टराईको चाहना अब छिट्टै पूरा हुने बताएका हुन् । उनले भने,‘उहाँले सोचेको कुरा अब चाँडै पूरा हुँदैछ, अब केही दिनभित्रै हामी यसको बारेमा मन्त्रालयमार्फत जनतासामू धारणा सार्वजनिक गर्छौं।’ मन्त्री यादवले आफ्नो कार्यकालभित्रै मेलम्ची आयोजना पूरा हुने दाबी गरे । अहिले चार ठाउँबाट काम भैरहेको र टनेलको काम बाँकी रहेको जानकारी दिए ।

त्यस्तै उनले प्रधानमन्त्री देउवाको निर्देशन अनुसार काठमाडौंका सडकहरूमा देखिएका सबै खाल्डाखुल्डीहरू पुर्ने काम भैरहेकोले केही दिनभित्रै सबै काम सम्पन्न हुने स्पष्ट पारे । उनले भने,‘धेरै खाल्डाहरू पुर्ने काम सम्पन्न भैसकेको छ, अब केही बाँकी छन्, त्यो पनि केही दिनभित्रै पुरिन्छन्।’ यद्यपी उनले मेलम्चीको कामले गर्दा खाल्डाखुल्डीहरू भएको जनाए ।

त्यस्तै उनले काठमाडौंमा देखिएका खानेपानीको समस्या समेत चाँडै समाधान गर्न आफूले पहल गरिरहेको विश्वास दिलाए । उनले थपे,‘खानेपानीबारे काठमाडौंमा देखिएको समस्या हल गर्न मैले विभागलाई निर्देशन दिइसकेको छु, पिउने पानीमा देखिएको लेदो, फोहर हटाउनको लागि मैले निर्देशन दिएको छु ।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.