सांसदहरूले आयल निगमको जग्गा खरीदमा ठूलो भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
सांसदहरूले विचौलियामार्फत् जग्गा खरीद गरेर आयल निगमले ठूलो भ्रष्टाचार गर्दा समेत सरकार मौन बसेकोमा आपत्ति जनाएका छन । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा बोल्दै सांसदहरूले जग्गा खरीदको नाममा आयल निगमले ऐन, कानूनको समेत बेवास्ता गरेर खरीद प्रक्रिया अघि बढाउनुको कारणको खोजी गर्न पनि सरकारसँग माग गरेका छन् ।
समितिमा सदस्य धनराज गुरुङले आयल निगमले खुला तरीकाले जग्गा खरीदमा भ्रष्टाचार गर्दा समेत सरकारले कार्वाहीको दायरामा नल्याएकोमा आपत्ति जनाए । उनले विचौलिया राखेर जग्गा खरीद गर्ने अधिकार आयल निगमलाई कसले दियो भनि प्रश्न गरे। सांसद गुरुङले प्रतिकट्ठा ३ लाख पर्ने जग्गालाई करीब १० लाखमा खरीद गर्नुको कारण स्पष्ट पार्न पनि आयल निगमका पदाधिकारीहरुसँग माग गरे । उनले संसदको समेत आँखामा छारो हाल्ने काम नगर्न पनि आयल निगमका पदाधिकारीहरुलाई चेतावनी दिए ।
सांसद उषा गुरुङले आयल निगमले जग्गा खरीदमा भ्रष्टाचार गरेको उल्लेख गर्दै तत्काल अनुसन्धान गरी कडा कार्वाही गर्न सरकारसँग माग गरिन् । झापाकी सांसद समेत रहेकी उनले झापामा प्रतिकठ्ठा १ लाख भन्दा बढी नपर्ने जग्गालाई १३ लाख ५१ हजार रुपैयाँ मूल्य देखाएर ठूलो मात्रामा घोटाला गरिएको पनि उल्लेख गरे ।
सांसदहरुले आयल निगमले जग्गा प्राप्ती ऐनलाई वेबास्ता गर्दै जग्गा खरीद गर्नुको कारण खोजी गर्न पनि सरकारसँग माग गरेका छन । उनीहरुले जग्गा खरीद विचौलियाहरुमार्फत गरेर निगमले ठूलो आर्थिक हिनामिना गरेको दाबी पनि गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरीद गरेको थियो । सो खरीदमा ठूलो घोटाला भएको पाइएपछि संसदीय समितिहरुले त्यसको अनुसन्धान प्रक्रियालाई अघि बढाएका हुन् ।