आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धानको हिरासतबाट प्रहरी हिरासतमा सार्न सर्वोच्च अदालतले आदेश दिएको छ। शर्मा पत्निले दिएको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाई गरिरहेको पाँच न्यायाधीशको पूर्ण इजलासले उक्त आदेश दिएको हो।
न्यायधीशहरु दिपकराज जोशी, दिपक कुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलाशले शर्मालाई अख्तियारको हिरासतमा राख्न उपयुक्त नदेखिएको भन्दै न्यायिक हिरासतमा अर्थात प्रहरीको हिरासतमा राख्न आदेश दिएको प्रवक्ता महेन्द्र उपाध्यायले बताए।
राजस्व हिनामिना गरेको आरोपमा शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ १९ गते नियन्त्रणमा लिएर आफ्नै हिरासतमा राखेको थियो। विशेष अदालतमा मुद्दा दायर भैसकेको र सर्वोच्चको पूर्ण इजलासले उनको रिटमाथि सुनुवाई गरिरहेको अवस्था देखाउँदै उक्त इजलासले न्यायिक हिरासतमा उनलाई राख्नु उपयुक्त देखेको आदेशमा उल्लेख छ।
प्रहरी हिरासतबाटै उनलाई सर्वोच्चमा चलिरहेको सुनुवाईमा उपस्थित गराउन पनि सर्वोच्चको आदेशमा उल्लेख छ। उनको बन्दीप्रत्यक्षीकरण रिटमाथि अन्तिम सुनुवाई चलिरहेको छ। सुनुवाई आज नसकिएपछि भोलिका लागि सरेको छ। आज अख्तियारको तर्फबाट सहमहान्यायाधिवक्ता पदम पाण्डे सहित तीन जनाले बहस गरेका थिए। शर्माका वकिलहरुको भने बहस सकिइसकेको छ। अख्तियार र सरकारी वकिलको बहसमात्र बाँकी छ।