सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न सबै तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले राष्ट्रिय जनता पार्टी, नेपालले चाहे मात्रै संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश हुने पनि स्पष्ट पारे ।
मंगलबार जनकपुरमा स्थानीय सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय जनता पार्टीका कारण निर्वाचन रोक्नुपर्ने कुनै कारण नरहेको पनि उल्लेख गरे । अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा पनि संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न प्रयास गरिएको तर पारित हुने अवस्था नभएपछि प्रक्रियामा नलगिएको पनि बताए ।
अध्यक्ष दाहालले मधेशमा छुट्टै देश हुनुपर्छ भन्ने र पहाडे राष्ट्रवाद दुवै अतिवादी सोच भएको उल्लेख गर्दै आफ्नो पार्टी त्यस विरुद्ध रहेको बताए ।
उनले जनकपुरलाई स्याटलाईट पर्यटकीय शहरको रुपमा विकास गर्ने दाबी गरेका छन् । यसका साथै, जनकपुर विमानस्थललाई स्तरोन्नति गरेर अन्तरराष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।