स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई भाग्यले राम्रै साथ दिएको छ। झापाको कमल गाउँपालिकाको अध्यक्ष गोला प्रथाबाट जितेको एमालेले म्याग्दी जिल्ला समन्वय समितिको निर्वाचनमा पनि गोलाप्रथाबाटै जितेको छ। म्याग्दीमा कांग्रेस र एमालेबीच बराबरी मत भएपछि गोला तान्दा एमालेका उम्मेदवार देवेन्द्र केसी जिल्ला प्रमुखमा निर्वाचित भएका हुन्।
१२ जना मतदातामध्ये एमालेको पक्षमा ६ जना र कांग्रेसको पक्षमा ६ जना भएपछि कांग्रेस कार्यालयमा आपसी सहमतिमा गोला तानिएको थियो। गोला तान्दा प्रमुख पाउने पक्षले ४ सदस्य र अर्को पक्षले उपप्रमुख सहित ५ सदस्य पाउने सहमति भएको थियो।
कांग्रेस र एमालेबीच सहमति अनुसार गोलाप्रथाबाट प्रमुख एमालेले पाएपछि उपप्रमुख कांग्रेसले पाएको छ । उपप्रमुख कांग्रेसका लोकबहादुर मल्ल बनेका छन् ।
त्यस्तै जिल्ला समन्वय समितिको ५ सदस्य पनि कांग्रेसले पाएको छ । दुवै दलको सहमति अनुसार नै उम्मेदवार मनोनयन भएपछि अब प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्विरोध भएका छन् ।
यसअघि झापाको कमल गाउँपालिकामा एमालेकी मेनुका काफ्लेले गोला प्रथाबाट कांग्रेसका उम्मेद्वारालाई हराएकी थिइन्।
यो पनि हेर्नुहोस्