आयोगले मुख्य निर्वाचन अधिकृतलाई भन्यो, ‘भरतपुर १९ मा मतदानको मिति तोक्नुहोस्’


निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा हुने पुन:मतदानको मिति तोक्न चितवनका मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेलाई निर्देशन दिएको छ।

हिजो सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा पुन:मतदानको मिति तोक्न मुख्य निर्वाचन अधिकृत न्यौपानेलाई निर्देशन दिइएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले सेतोपाटीलाई जानकारी दिए।

‘भरतपुर-१९ का सबै मतदान केन्द्रमा मतदान हुने मिति, समय र स्थान तय गरी सुरक्षाको प्रबन्ध मिलाई मतदानको तयारी अगाडि बढाउन आयोगले निर्देशन दिएको छ,’ प्रवक्ता शर्माले भने।

पुन: मतदान हुने १९ नम्बर वडा र मतगणना रोकिएको २० नम्बर वडाको मतगणना सँगै गर्न पनि आयोगले निर्देशन दिएको छ। ‘मतदान गर्नुपर्ने वडाको मतदान सकेर मतपेटिक संकलन गरेपछि रोकिएको मतगणना पनि सुरु गर्ने आयोगको निर्णय हो,’ उनले भने, ‘दुवै वडाको मतगणना एकसाथ हुन्छ।’

२० नम्बर वडामा भने पुन: मतदान नभएर वैशाख ३१ मा भएको मतदानको मतगणना हुनेछ।

सर्वोच्च अदालतले भरतपुर-१९ मा पुनः मतदान गर्ने निर्णय सदर गर्दै यो निर्णय रोक्न परेको रिट खारेज गरेको थियो। सर्वोच्चको यही फैसला कार्यान्वयन गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको प्रवक्ता शर्माले बताए।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि त्यहाँ मतगणना रोकिएको थियो। जेठ १४ गते आइतबार मध्यरात १९ नम्बर वडाको मतगणना गर्दैगर्दा माओवादी प्रतिनिधिले मतपत्र च्यातेका थिए। त्यतिबेला कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिसकेको थियो।

वडा नम्बर १९ का २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातिएको थियो। त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो। यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो।

१९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो। त्यस दिन राति १२ बजेसम्म उक्त वडाको थप ४०० मत गनिइसकेको थियो, परिणाम भने सार्वजनिक भएको थिएन।

यो घटनापछि माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नम्बर १९ मा पुन:मतदान हुनुपर्ने माग गरेका थिए भने एमालेले माओवादीले नियतवश मतपत्र च्यातेको भन्दै पुन:मतदान स्वीकार्य नहुने बताउँदै आएको थियो।

सर्वोच्चको अइतबारको अदेशपछि अब १९ नम्बर वडामा मतदान गराउनुपर्नेछ। कानुनअनुसार सम्बन्धित केन्द्रको मत्र गराउनुपर्ने भए पनि १९ नम्बर वडाका सबै मतदान केन्द्रका मतपत्र एकैठाउँ मिसाएर मतगणना भइरहेकाले पूरै वडामा मतदान गर्नुपरेको हो। यहाँ तीन मतदान केन्द्र र ३७९७ मतदाता छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.