भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्न सरकारलाई आग्रह गर्छौं : सांसद मोदी 


भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकार समक्ष पाँच बुँदे माग अघि सारेको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा समितिले भुटानी शरणार्थीहरू स्वदेश फिर्ता हुन पाउनुपर्ने, तेस्रो मुलुकमा जान पाउनुपर्ने, स्थानीयकरण गरिनुपर्ने लगायतका मागहरू अघि सारेको हो ।

कार्यक्रममा माआवादी केन्द्रका सांसद अनमनलाल मोदीले शरणार्थीहरुको समस्या जतिसक्दो चाँडो समाधान गर्नको लागि सरकारलाई आग्रह गर्ने बताएका छन् । मानव जाती सर्वोत्कृष्ट प्राणी भएको भन्दै मानिस हुनुको गर्व गर्न पाउनु पर्नेमा जोड दिए। उनले भने,‘मानव हुनुको नाताले पनि पारिवारिक सम्बन्ध र देश छोडेर अरुको देशमा शरणार्थी भएर बस्नुको पीडा कारुणिक छ, यो विषयलाई अन्तरराष्ट्रिकरण गर्नुपर्छ, जहाँसम्म नेपाल सरकारले नागरिकता दिनुपर्छ भन्ने माग छ त्यो पूरा नहुन सक्छ, किनकी यस्ता रित बसालेको खण्डमा हाम्रो राष्ट्रियता कमजोर बन्छ।’

त्यस्तै, एमाले सांसद महेन्द्रा लिम्बुले शिविरमा मानवताको खडेरी परेको बताएकी छिन् ।उनले भनिन्,‘हाम्रो देशमा जति शरणार्थीहरू छन्, उनीहरूको स्थिति निक्कै नाजुक छ, हाम्रो मुलुकको स्थिति पनि त्यस्तै लथालिङग छ, तर शिविरको पीडा यहाँ पोख्न गाह्रो हुन्छ, यी समस्या समयमै समाधान नगरिए यसले ठूलो रुप लिन्छ ।’

त्यस्तै, कार्यक्रममा शिविरका सल्लाहकार राजमान गुरुङले विगत २५ वर्षदेखि नेपालको पूर्वी भागमा बसोबास गर्दै आएका भुटानी शरणार्थीहरुको समस्या दिर्घकालीन रुपमा समाधान गर्न नेपाल सरकारसँग माग गरे ।त्यस्तै टोली संयोजक चम्पासिङ राईले झापा र मोरङ्गमा रहेको बेलडाँगी र पथरी शनिश्चरे शिविरमा थोरै संख्यामा रहेका भुटानी शरणार्थीहरुको राहत समेत दिन प्रति दिन कटौती हुँदै आएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमका सञ्चालक नास्मी राईले तत्काल आफ्ना माग पुरा नभए समस्याले जटिल रुप लिने बताए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.