प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तयार पार्न सरकारबाट आवश्यक सबै सहयोग आयोगलाई उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आइताबर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्वाचन क्षेत्र निर्धारण आयोगका अध्यक्ष कमलनारायण दास लगायतका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले आयोगलाई २४ सै घण्टा सहयोग गर्न सरकार तयार रहेको बताए । उनले भने, ‘तपाईंहरू तोकिएकै समयभित्र आफ्नो काम सम्पन्न गर्नुहोस्, तपाईंहरूलाई सरकारबाट चाहिने आवश्यक सहयोग २४ सै घण्टा दिन तयार छौँ ।’
प्रधानमन्त्रीले आगामी माघ ७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकारले तोकेको समयभित्र क्षेत्र निर्धारण आयोगले प्रतिवेदन बुझाउने विश्वास पनि व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले २१ दिनको समयावधि तोकेर क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगले यही साउन ११ गतेदेखि काम शुरू गरेको छ । आयोगका पदाधिकारीले सबै राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरी छिट्टै विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा अध्ययन टोली खटाउने तयारी गरिरहेको जानकारी प्रधानमन्त्रीलाई गरएका थिए । रासस