स्थानीय तह निर्वाचनमा पार्टीले हार व्यहोरेकोमा जिम्मेवारी लिँदै नयाँ शक्ति नेपालका प्रवक्ता तथा सञ्चार विभाग प्रमुख खिमलाल देवकोटाले पदबाट राजिनामा दिएका छन्।
देवकोटाले गत मङ्गलबार (१० गते) आफ्नो पदबाट राजिनामा दिएका हुन् । पार्टीले भोगेको पराजयप्रति जिम्मेवारी कोही न कोहीले त लिनुपर्ने भन्दै आफूले राजिनामा दिएको देवकोटाले बताए। उनले बुझाएको ६ बुँदे पत्रको चौथो बुँदामा यसबारे उल्लेख गरेका छन्।
उक्त बुदाँमा भनिएको छ ,२०७० सालको निर्वाचनमा आफु संलग्न रहेको पार्टी पहिलोवाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजिनामा दिन पर्छ भनियो निकै जोड गरियो नया शक्तिको खाचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण वनाईयो । तर आज आफुलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन । त्यसैले कहि न कहि समस्या छ । यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महसुस भै मैले नैतिक जिम्मेवारी लिदै पार्टी प्रवक्ता, संचार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निष्कर्षमा पुगेको व्यहोरा यस अघि अनौपचारिक छलफलमा व्यक्त गरेकै थिए । सोही कुरालाई अहिले औपचारिक रुपमा यो जिम्मेवारी परित्यागको पत्र प्रेसित गरेको छु । वैठकमा जानाकारी गराईदिनुहुन अनुरोध छ ।
उनले पदीय जिम्मेवारी त्यागे पनि वैकल्पिक राजनीतिको महान अभियानमा अग्रपक्तिमा रहेरै योगदान गर्ने प्रण र प्रतिबद्धता भने व्यक्त गरेका छन् ।
संयोजक डा. बाबुराममाथि खिमलालका आरोप
चुनावी पराजयको जिम्मा नलिने संयोजक डा. भट्टराईमाथि आक्रामक रुपमा नेता देवकोटाले लेखेका छन, नैतिक जिम्मा संयोजकका नाताले बाबुरामजीले नै लिनुपर्थ्यो तर लिनुभएन। अरुको त कुरै भएन। उल्टो पदाधिकारी बनाउन कस्सिनुभो।
त्यसपछि आफूले पार्टीको तर्फबाट जिम्मा लिन पर्छ भनेर ६ बुँदे लिखितसहित पार्टी हैन प्रवक्ता पद परित्याग गरेर राजीनामाबारे बैठकमा जानकारी गराइदिन आग्रह गर्दा पनि आफ्नो पत्र हालै सम्पन्न पार्टी बैठकमा नसुनाइदिएको गुनासो पनि नेता देवकोटाको छ। शुक्रवार नेता देवकोटा पत्रकार सम्मेलनमा पनि देखिएका थिएनन्।
प्रवक्ता देवकोटाको थप आरोप छ, २०७० सालको निर्वाचनमा आफू संलग्न रहेको पार्टी पहिलोबाट तेश्रोमा झर्दा नैतिकका आधारमा अध्यक्षले राजिनामा दिन पर्छ भनियो। निकै जोड गरियो। नयाँ शक्तिको खाचो यसकारण पनि छ भनेर त्यसैलाई पनि कारण बनाइयो। तर आज आफूलाई पर्दा ती प्रसंगवश पनि देखा परेनन्। त्यसैले कहीँ न कहीँ समस्या छ। यस्तो लागेर कसै न कसैले जिम्मा लिन पर्छ भन्ने महसूस भै मैले नैतिक जिम्मेवारी लिँदै पार्टी प्रवक्ता, संचार विभाग प्रमुख र कार्यकारी समितिको पद परित्याग गर्ने निष्कर्षमा पुगेको छु।
आफूले अनौपचारिक छलफलमा व्यक्त गरे अनुसार नै संघीय परिषद बैठकमा राजीनामा सुनाउन संयोजक डा . भट्टराईलाई अनुरोध गरेको तर जानकारी नगराइएकोले सामाजिक संजालमार्फत् सार्वजनिक गर्नु परेको पनि नेता देवकोटाले उल्लेख गरेका छन्।
नयाँ शक्ति गठनदेखि नै काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने जस्तै भएको पीडा पनि आफ्नो ६ बुँदे राजीनामा पत्रमा नेता देवकोटाले मार्मिक रुपमा उल्लेख गरेका छन्।
नेता देवकोटा लेख्छन्, पार्टी घोषणा लगत्तै जनतामा जानुपर्नेमा आरम्भदेखि नै पार्टी उल्टो बाटो हिँड्न शुरु गर्यो । रंगशालाको लाखौको जमातबाट कमलादीमा केही हजार लिएर पुग्यो। बाँकी छुटे। त्यहाँबाट पनि बबरमहलमा केही सय मान्छे लिएर आयौँ। बबरमहलबाट पनि तीन सहसंयोजक लिएर संयोजकज्यु पार्टी कार्यकक्षमा प्रवेश गर्नुभो। त्यसपछिको लगभग ८० प्रतिशत समय परिषद् सदस्य थप्ने कार्यसमिति सदस्य थप्ने र बढुवा गर्ने ध्यानमा नै प्राय बैठकहरु सकिन थाले। पटक पटक मैले असहमति राख्दै आएँ तर सुनुवाई भएन। पार्टीको वैकल्पिक राजनीतिको हेक्कासम्म पनि हुन छाडयो।
आर्थिक विकासका लागि नयाँ अवधारण ल्याउँदै नयाँ पार्टी गठन गरेका डा. बाबुराम भट्टराईलाई अहिले दशा नै लागेको छ । उनलाई अहिले विश्वास गरेकाहरुले नै धमाधम धोका दिन थालेका छन् ।
खासगरी नयाँ शक्ति पार्टी गठन गर्दा उनले समुन्नत नेपाल बनाउने परिकल्पना गरेका थिए । तर, पार्टी गठन गरेको २ वर्षसम्म पनि पार्टीलाई सुस्त बनाउन नसक्नु र स्थानीय तहको निर्वाचनमा राम्रो परिणाम ल्याउन नसक्नु नै उनलाई आफ्नै विस्वास पात्रबाट धोका खाने माध्यम बनेको छ ।
नयाँ शक्ति पार्टी गठन गर्दा उनले बामपन्थी र प्रजातान्त्रिक दुइटै धार नअपनाउने गरी बैकल्पिक शक्तिको रुप दिने बताएका थिए । तर,संघीय समाजवादी फोरमसँगको सहकार्यका स्थानीय निकायको निर्वाचनमा भाग लिएपछि निक्कै आलोचना भएको थियो ।
कतिपयले डा. बाबुराम भट्टराई नै सर्वेसर्वा हुन खोजेको आरोप पनि लगाउन पछि परेनन् । त्यही आरोप लगाउँदै पार्टी प्रवक्ता खिमलाल देवकोटा पार्टीबाट बाहिरिए । देवकोटाले राजीनामा दिएको २४ घण्टा पुग्न नपाउँदै शनिबार पाँच जनाले राजीनामा दिएका छन् । यसले नयाँ शक्ति पार्टीलाई ठूलै धक्का लागेको छ ।
नयाँ शक्ति नेपालको दलित जनवर्गीय संगठन दलित शक्तिका संयोजक सुशीला श्रीपाइलीसहित ५ जना केन्द्रिय स्तरका नेताहरुले राजीनामा दिएका हुन् । उनीहरुले नयाँ शक्तिले दलित समुदायप्रति अनुदार व्यवहार देखाएको भन्दै दलित शक्तिका संयोजक श्रीपाइलीसहित प्रवक्ता दलमर्दन कामी, कार्यालय सचिव महेन्द्र सुनार, दलितसञ्चार विभाग प्रमुख गणेश विश्वकर्मा र संगठन विभाग प्रमुख दिपेन्द्र विश्वकर्माले राजीनामा दिएका हुन् ।
उनीहरुले आफ्नो राजीनामा पत्रमा नयाँ शक्ति भनिए पनि पूराना र सामन्ती पार्टीभन्दा फरक नभएको आरोप लगाएका छन् । उनीहरुले १० वर्षे जनयुद्ध, १९ दिने आन्दोलन र उत्पीडिन विरुद्ध गरिएका आन्दोलनमा दलित समुदायले गरेको योगदान भुलेको आरोप लगाएका छन् । उनीहरुले उत्पीडित वर्गको अधिकार नै नपाउने अवस्थामा नयाँ शक्तिमा बसिरहनुको कुनै औचित्य नभएको उल्लेख गरेका छन् ।
उनीहरुले शनिबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई राजीनामा पत्र बुझाएका हुन् । यद्यपि उनीहरुको राजीनामा भने स्वीकृत भएको छैन ।