सिँचाइमन्त्री सञ्जय गौतमले मुलुकमा संविधान कार्यान्वयन गर्नका लागि प्रदेश र केन्द्रीय निर्वाचन एकै चरणमा गराउन गृहकार्य भइरहेको बताएका छन् ।
शनिबार राजधानीमा आयोजित एक अन्तरक्रियामा मन्त्री गौतमले निर्धारित समयसीमाभित्र निर्वाचन गराउन कम समय रहेकाले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी तयारी गरेको बताए । सरकार एकै चरणमा निर्वाचन गराउन सक्षम रहेको बताउँदै उनले एकै चरणमा निर्वाचन गराउँदा समय र खर्चको बचत हुनेहुँदा त्यसका लागि प्रतिपक्ष दलसँग समन्वयको खाँचो रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले निर्वाचन आयोगसँग छलफल गरिसक्नुभएको छ, यसबारेमा आयोग पनि सकारात्मक छ, अन्य पार्टीसँग पनि सरसल्लाह गरेर एकै चरणमा निर्वाचन गराउने गरी छिट्टै मिति घोषणा हुन्छ ।’
मन्त्री गौतमले संविधान संशोधनका लागि दुई तिहाइ बहुमत सरकारसँग नरहेको भए पनि त्यसलाई प्रक्रियामा लैजानुपर्नेमा जोड दिँदै आगामी असोज २ गते हुने प्रदेश नं २ को स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपालाई सहभागी गराउन सरकार लागिपरेको बताए ।
उनले मुलुकमा भइरहेका परम्परागत सिँचाइ व्यवस्थालाई सुदृढ गरी नयाँ प्रविधिको प्रयोग गरी उत्पादन वृद्धि गर्न सकिने विचार व्यक्त गरे । सिँचाइसम्बन्धी योजना धेरै वर्ष पुरानो भएकाले नयाँ गुरुयोजना ल्याइने जानकारी दिए । रासस