माओवादीसँगको एकताबारे बाबुरामले भने – प्रचण्डजीले सपना देखेको हुनसक्छ


काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतालाई ‘सपना’ को रूपमा टिप्पणी गरेका छन्।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँगको नयाँ शक्तिको एकता प्रक्रियामा यसै साता ब्रेक लागेको थियो। पार्टीको नाम र भट्टराईको पदका विषयमा कुराकानी नमिलेपछि नयाँ शक्तिको एकता कतै माओवादीसँग हुने त होइन भन्ने प्रश्न उठेको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै माओवादी शक्तिहरू पुनः एक ठाउँमा आउने क्रम जारी रहेको बताएका थिए।

भट्टराईले पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषद्को बैठकपछि माओवादीसँगको एकताबारे नमिठो टिप्पणी गरे।

‘प्रचण्डले सपना देखेको पनि हुनसक्छ, एकताको कुनै सम्भावना छैन,’ भट्टराईले भने।

उनले साझा पार्टी र विवेकशील दलको एकतामा भने सकरात्मक टिप्पणी गरे। साथै शुभकामना पनि दिए। पार्टीको संघीय परिषद् बैठकमा भने दुई पार्टीको एकताको कुनै वैचारिक आधार नभएको टिप्पणी गरे।

उनले आफ्नो पार्टीले उठाएको पाँच स को ‘सुशासन र सदाचार’को आधारमा मात्र विवेकशील र साझा पार्टी एक भएको उल्लेख गर्दै कुनै राजनीतिक घटनाक्रम नभएको बताएका थिए।

भट्टराईले संघीय समाजवादी फोरम नेपालसँगको एकता टुट्नुको कारण वैचारिक र नाम नमिल्नु प्रमुख भएको बताए।

‘पार्टीको नाम, संगठनात्मक संरचना र सहभागिता लगायतका विषयले पनि हो’, भट्टराईले भने, ‘केही वैचारिक कुरा पनि हो। उहाँहरुको जोड परम्परावादी शक्तिमा छ। उहाँहरुले संघीयतालाई सिद्धान्त मान्नुभयो। हामीले संघीयतालाई कार्यक्रम मान्यौँ।’

उनले तत्काल संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया टुङ्गिएको बताए।

भट्टराईले २ नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा फोरमसँग सहकार्य हुन सक्ने बताए। ‘मिलेर जान सके गइन्छ, दुई नम्बरको चुनावबारे कुरा गर्छौँ’, भट्टराईले भने।

यसैबीच प्रदेश  र केन्द्रको निर्वाचन एक साथ गर्ने सरकारको तयारीको नयाँ शक्तिले स्वागत गरेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.