सांसदसँग जनताले अब प्रत्यक्ष ‘च्याट’ गर्न पाउने


सांसदसँग अब जनताले प्रत्यक्ष  ‘च्याट’ गर्न पाउने भएका छन्। संसद सचिवालयले यूनएनडिपीको सहयोगमा तयार गरेको वेबसाइटमा सांसदसँग जनताले प्रत्यक्ष ‘च्याट’ गर्ने सुविधा राखेको हो।

‘च्याट’ का लागि प्रत्येक सांसदलाई आइडी उपलब्ध गराउने तयारी सचिवालयले गरेको छ। सांसदहरु ‘आइडी लग इन’ गरेर अनलाइन हुनेछन्। अनलाइन भएका बेला संसदको वेबसाइटमा गएर कुराकानी गर्न सकिने प्रबन्ध सचिवालयले गरेको हो ।

संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डेले कुराकानीको व्यवस्थासहितको नयाँ वेबसाइट निर्माण गरिएको जानकारी दिए। आठ लाख रुपैयाँ खर्च गरेर यूएनडिपीले संसद सचिवालयलाई नयाँ वेबसाइट डिजाइन र मोबाइल एप निर्माण गरिदिएको हो।

मोबाइल एप्लिकेशनमा संसद बैठकको प्रत्यक्ष प्रशारणको व्यवस्था गरिएको छ। त्यस्तै, विधेयकहरु पढ्ने र डाउनलोड गर्ने व्यवस्था समेत राखिएको छ।

पाण्डेले ‘पेपरलेस’ संसदको परिकल्पनामा एपले सहयोग पुग्ने बताए। ‘अब संसदको एपबाट कुनै नयाँ विधेयक दर्ता भए, कुन पारित भए वा कुन विधेयक प्रक्रियामा छन् भन्ने जानकारी पाइनेछ’, पाण्डेले नयाँ एपबारे भने, ‘संविधान पढ्न पाइन्छ। त्यस्तै, संसदको पुरानो अर्काइभ र सांसदले बोलेका कुरा, उनीहरुको विवरण राखेका छौँ।’

एप्लिकेशन सार्वजनिक गर्दै सभामुख ओनसरी घर्तीले जनता र सांसदको दूरी अब घट्ने  बताईन्। संसद सचिवालयले आफ्नै टिभी र रेडियो सञ्चालनको तयारी गरिरहेको उनको भनाई थियो।

के भन्छन् सांसद?

एप्लिकेशन सार्वजनिक कार्य्रकममा सांसद मिना पुनले राजनीतिक दल र सरकारको समेत वेबसाइट समयमा अपडेट नहुने समस्या देखिएको उल्लेख गर्दै संसदको वेबसाइट अपडेट गर्न सचिवालयको ध्यानाकर्षण गराईन्। सांसद परशुराम तामाङले प्रत्येक सांसदको पेज निर्माण गरेर वेबसाइटमा राख्न सुझाए।

सांसद नरदेवी पुन मगरले भने छुट्टै गुनासो गरिन्। उनले संसदको टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्दा आफूहरुलाई नदेखाइएको बताईन्। ‘खास खास मान्छेको मात्र देखाउने गरिएको छ, क्यामेरा घुमाउनेमा विभेद छ’, मगरले भनिन्, ‘गाउँमा जनताले कहाँ जानुभयो भनेर सोध्छन्।’ संसद सचिवालयले संसदको बैठक भित्र क्यामेरा राखेर भिजुअल आउटपुट टेलिभिजन र मिडियाहरुलाई उपलब्ध गराउने गरेको छ।

सांसद प्रेमबहादुर सिंहले भने नेपालको संसदको इतिहास नभेटिने गरेको उल्लेख गर्दै संसदको वेबसाइटमा राख्न आग्रह गरे। संसदले आफ्नो वेबसाइट parliament.gov.np मा अपडेट गरेको हो भने Parliament of Nepal एप सञ्चालनमा ल्याएको हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.