भारतीय राज्य विहारका मुख्यमन्त्री नितिशकुमारले बुधबार पदबाट राजीनामा दिएका छन्। उनले साँझ राज्यका गर्भनर केशरीनाथ त्रिपाठीलाई भेटेर राजीनामा बुझाएका हुन्।
बिहारमा लालुप्रसाद यादवको राष्ट्रिय जनता दल र नितिशकुमारको जनता दल युनाइटेडबीच गठबन्धन सरकार थियो। लालुका छोरा तेजस्वी यादव बिहारका उपमुख्यमन्त्री थिए।
यादवविरुद्ध भारतको केन्द्रीय अनुसन्धान ब्युरोले केही दिनअघि भ्रष्टाचारको आरोपमा छानबिन थालेको थियो।
नितिशकुमारले भ्रष्टाचारमा छानबिन भइरहेका यादवले उपमुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए पनि लालु यादवले छोराले राजीनामा नदिने अडान लिएपछि नितिशकुमार अाफैंले राजीनामा दिएका हुन्।
‘यस्तो अवस्थामा काम गर्न सकिन्न। महागठबन्धनलाई बचाउन मैले सकेको गरेको हुँ। लालु र तेजस्वी दुबैसँग कुरा गरेको हु,’ राजीनामापछि संवाददाताहरूसँग कुरा गर्दै नितिश कुमारले भने, ‘मैले कसैको राजीनामा मागेको थिइनँ बरु भ्रष्टाचार मुद्दाबारे के भएको हो भन्ने स्पष्टतामात्र खोजेको थिएँ तर त्यो स्पष्टता पनि आएन्।’
उनले आफ्ना सामू अरु कुनै विकल्प बाँकी नरहेकाले राजीनामा दिएको बताए। गभर्नर त्रिपाठीले नितिशकुमारको राजीनामा स्वीकृत गरेका छन्।
नितिशकुमारले राजीनामा दिएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई ट्वीटरमार्फत् बधाई दिएका छन्। ‘भ्रष्टाचारविरुद्धको लडाइँमा जोडिनुभएकोमा नितिशकुमारजीलाई धेरै धेरै बधाई, सवा सय करोड नागरिकले इमानदारीको स्वागत र समर्थन गरिरहेका छन्,’ मोदीले ट्वीटमा लेखेका छन्।