अन्तिम समयमा देउवा मन्त्रिमण्डलमा महेन्द्र यादवको ‘इन्ट्री’


मंगलबार साँझसम्म नेपाली कांग्रेसबाट मन्त्री हुनेको सूचीमा पर्वतका सांसद अर्जुन जोशीको नाम पनि थियो। तर राति भने सूचीबाट उनको नाम हटेर प्रमुख सचेतक समेत रहेका चीनकाजी श्रेष्ठ मन्त्री हुने सूचीमा आएका थिए। उनले रक्षा मन्त्रालय पाउने पनि लगभग टुंगो लागेको थियो।

तर बुधबार चार बजे राष्ट्रपति कार्यालयमा सपथ हुनु केही समयअघि देउवा समूहबाट मन्त्री हुन लागेका श्रेष्ठको नाम पनि मन्त्रीको सूचीबाट हट्यो। उनको सट्टामा महेन्द्र यादवको नाम थपियो। यादवले खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि खानेपानी मन्त्री हुने भनिएका भीमसेनदास प्रधानले रक्षा मन्त्रालय पाएका छन्। श्रेष्ठको नाम सूचीमा रहुन्जेल उनले रक्षा र प्रधानले खानेपानी मन्त्रालय सम्हाल्ने तय भएको थियो।

अन्तिम समयमा देउवा मन्त्रिमण्डलमा ‘इन्ट्री’ गरेका यादव धनुषाका समानुपातिक सांसद हुन्। यसअघि उनी नेपाल तरुण दलका अध्यक्ष थिए।
२०७२ सालमा भएको कांग्रेसको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

अघिल्लो संविधान सभामा पनि यादव समानुपातिक सांसद थिए।

बालुवाटार स्रोतका अनुसार देउवा समूहबाट मन्त्री बनेका चार जनामध्ये कोही पनि मधेसी समुदायबाट नपरेपछि अन्तिम समयमा देउवाले श्रेष्ठको ठाउँमा यादवलाई मन्त्री बनाउने निर्णय गरेका हुन्।

पौडेल समूहबाट भने मधेसी समुदायका रामकृष्ण यादव कृषि मन्त्री भएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.