चुनाव जितेर पनि मन्त्री हुन वञ्चित माओवादीका यी पाँच ‘अभागी’ सांसद

अशोककुमार मण्डल


दोस्रो संविधानसभाले माओवादीलाई तेस्रो स्थानमा खुम्च्याए पनि सत्तामा पुग्न भने फलिफाप साबित भएको छ।

यस अवधिमा संविधान जारी नहुँदाको समयबाहेक माओवादी केन्द्र सत्ताबाहिर बस्नुपरेको छैन। संविधान जारी भएपछि बनेका तीनवटै सरकारमा उसले सम्मानजनक हैसियत पाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व गरिसकेका छन् भने अन्य ३१ जना मन्त्री भइसकेका छन्। तीमध्ये साँत जना राज्यमन्त्री छन्।

दोश्रो संविधानसभामा माओवादीले देशभरका २ सय ४० निर्वाचन क्षेत्रमध्ये २६ ठाउँमा विजय हासिल गरेको थियो। ती २६ विजयीमध्ये बाबुराम भट्टराईले संसदबाट राजीनामा दिइसकेका छन्। संसदमा माओवादीका ८२ जना सांसदमध्ये २५ जना प्रत्यक्ष निर्वाचित छन्। यसमध्ये २० जना विभिन्न कार्यकालमा मन्त्री भइसकेका छन् भने सर्लाही १ बाट निर्वाचित शम्भुलाल श्रेष्ठ यसैपालि पहिलोपटक राज्यमन्त्रीको सिफारिसमा परेका छन्। उनको सपथ भने हुन बाँकी छ। बाँकी  पाँच जना मात्र यस्ता छन्, जो चुनाव जितेर पनि हालसम्म मन्त्री हुन वञ्चित रहे।

सिरहा ५ बाट प्रत्यक्ष निर्वाचन जितेका माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भइसकेका छन्। रोल्पा २ बाट निर्वाचित ओनसरी घर्ती सभामुख छिन्। यसबाहेक कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र जनार्दन शर्मा त यस्ता भाग्यमानी हुन्, जो दोहोर्याएर मन्त्री हुन पाए।

माओवादीका ती पाँच जना सांसद भने यस्ता अभागी छन्, जसले पार्टी तेस्रो चोटि सरकारमा जाँदा पनि मन्त्री हुने अवसर पाएनन्।

चुनाव जितेर पनि मन्त्री हुन नपाउनेमा सप्तरी २ बाट निर्वाचित अशोककुमार मण्डल र सप्तरी १ बाट निर्वाचित मानपुर चौधरी छन्। अन्तिम समयसम्म मन्त्रीको दौडमा रहेर मन्त्री हुन नपाउने अर्का अभागी सांसद रामेछाप २ बाट निर्वाचित श्यामकुमार श्रेष्ठ हुन्। बर्दिया ४ बाट प्रत्यक्ष निर्वाचित मानबहादुर चौधरी र गोरखा ३ का छमबहादुर गुरूङ अझै माओवादीबाट मन्त्री हुनेको सूचीमा परेका छैनन्।

श्यामकुमार श्रेष्ठ
मानपुर चौधरी
मानबहादुर चौधरी

मन्त्री हुने आश्वासन पाएर पनि अन्तिम समयमा नबनाएकोमा रामेछाप २ बाट निर्वाचित श्रेष्ठले आश्चर्य प्रकट गरेका छन्। ‘जिल्लाका नेता, कार्यकर्ता र जनताको अवमूल्यन गरिएको छ,’ उनले सेतोपाटीसँग भने, ‘पटक–पटक प्रतिबद्धता जनाएर पनि अन्तिम अवस्थामा निर्णय परिवर्तन भएपछि म आश्चर्यमा परेको छु।’

सप्तरीका माओवादी सांसद मण्डलले प्रत्यक्ष निर्वाचन जितेर पनि पार्टीले मन्त्री नबनाएर आफूलाई अन्याय गरेको प्रतिक्रिया दिए।

‘चार जनामा म सबैभन्दा सिनियर छु। मभन्दा जुनियरहरूलाई पनि पार्टीले मन्त्री बनायो,’ उनले भने, ‘म २०५३ सालदेखि निरन्तर पार्टीमा लागेको एउटा इमानदार सिपाही हुँ। म अढाई वर्ष जेल परेँ। मैले नै सदस्यता दिएकाहरूलाई पार्टीले मन्त्री बनायो, तर मेरो भूमिका बुझेन।’

सप्तरीका जनताले माओवादी पार्टीलाई झन्डै–झन्डै रुकुम, रोल्पाको स्थानमा पुर्याए पनि पार्टीले सप्तरीको मूल्यांकन गर्न नसकेको उनले बताए। दोस्रो संविधानसभा निर्वाचनमा सप्तरीका ६ निर्वाचन क्षेत्रमध्ये माओवादीले ३ वटा जितेको थियो।

‘नेपालको इतिहासमा धानुक जातिबाट चुनाव जित्ने म एक्लो व्यक्ति हुँ। धानुक जातिका मतादाता मात्रै झन्डै १६ लाख छन्,’ उनले भने, ‘धानुक जातिको सम्मानका लागि पनि मलाई पार्टीले मन्त्री बनाउनुपर्थ्यो।’

यसअघि पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ बहुमत ल्याए पनि माओवादीले सरकारमा जान निकै संघर्ष गर्नुपरेको थियो। त्यस अवधिमा बनेका चार सरकारमा दुईवटाको नेतृत्व एमालेले गर्यो भने दुईवटाको माओवादीले।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.