स्थानीय तहको निर्वाचनमा नगरप्रमुख र गाउँपालिका अध्यक्ष पदमा बढी स्थान जितेर पहिलो बनेको नेकपा एमालेले समग्रमै स्थानीय तहको सम्पूर्ण पदको ४५ प्रतिशत हिस्सा जित्न सफल भएको छ। पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको स्थानीय तहको सम्पूर्ण पदमा एमालेले अन्य दललाई उछिनेको हो।
स्थानीय तहका विभिन्न पदमा २८ हजार ४ सय ९ जना निर्वाचित जनप्रतिनिधि मध्ये अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र वडाध्यक्षका ६६८८ पदमध्ये एमालेका २९१८ जनाले जितेका छन्।
एमालेले अध्यक्ष/प्रमुखमा २७६ अर्थात ४५ प्रतिशत, उपाध्यक्ष/उपप्रमुखमा ३१२ अर्थात ५०.६५ प्रतिशत र वडाध्यक्षमा २३३० अर्थात ४२.७२ प्रतिशत जितेको छ।
यस्तै नेपाली कांग्रेसले अध्यक्ष/प्रमुखमा २२६ अर्थात ३६.६९ प्रतिशत, उपाध्यक्ष/उपप्रमुखमा १८६ अर्थात ३०.१९ प्रतिशत र वडाध्यक्षमा १९४३ अर्थात ३५.६१ प्रतिशत जितेको छ।
यस्तै तेस्रो भएको पार्टी माओवादी केन्द्रले अध्यक्ष/प्रमुखमा ८४ अर्थात १३.६४ प्रतिशत, उपाध्यक्ष/उपप्रमुखमा ८७ अर्थात १४.१२ प्रतिशत र वडाध्यक्षमा ८७२ अर्थात १५.९८ प्रतिशत जितेको छ।
७४४ स्थानीय तहमध्ये पहिलो र दोस्रो चरणमा गरी ६१७ स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ। देशभरका कुल ६६८४ वडामध्ये ५४७२ वडामा निर्वाचन भइसकेको छ। पहिलो चरणमै निर्वाचन सम्पन्न भएर पनि मतगणना विवादका कारण भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख तथा वडा नम्बर १९ र २० को परिणाम रोकिएको छ। त्यसबाहेक सबैतिर जनप्रतिनिधिले काम थालिसकेका छन्।
प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादीले स्थानीय तहमा कुल पदको ९५ प्रतिशत हिस्सा ओगटेका छन्।
बाँकी ५ प्रतिशत सिटमा राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, लोकतान्त्रिक फोरम, नयाँ शक्ति, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी तथा स्वतन्त्रसमेतले जितेको निर्वाचन आयोगले जनाएको छ। स्थानीय निर्वाचनमा ७३ राजनीतिक दलले भाग लिएकोमा १४ दल मात्रै कुनै न कुनै पदमा जित हासिल गर्न सफल भए।
आयोगको सूचना प्रविधि व्यवस्थापन महाशाखाले तयार पारेको नतिजा पुस्तिकाअनुसार संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको गठबन्धनले चौथो स्थान प्राप्त गरेको छ।
७४४ स्थानीय तहमा प्रत्यक्ष निर्वाचित हुने पद संख्या ३४ हजार ९ सय ८ छन्। प्रदेश २ को ८ जिल्लाका १ सय २७ स्थानीय तहमा निर्वाचन हुन बाँकी छ। पहिलो चरणमा निर्वाचन भएका प्रदेश ३, ४ र ६ का २८३ गाउँपालिका र नगरपालिकाको १३५५६ पदमा १३ हजार ४ सय जनाले पदबहाली गरेका छन्।