परराष्ट्रमन्त्री महरासँग म्यानमारका राजदूतको भेट


उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यानमारका राजदूत ल्विन ऊले शिष्टाचार भेट गरेका छन्।

परराष्ट्र मन्त्रालयमा मङ्गलबार भएको भेटवार्तामा नेपाल र म्यानमारबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले मित्रता, सहकार्य र समानतामा आधारित दुई देशबीचको सम्बन्ध शान्तिदूत गौतम र उनका दर्शनले अझै प्रगाढ बनाएको बताए ।

उनले हालै दुई देशबीच हवाई सम्बन्ध स्थापना भएको उल्लेख गर्दै नेपाल– म्यानमारबीचमा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  मन्त्री महराले नेपाल र म्यानमारबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरी आपसी चासो र हितका विषयलाई अझ विस्तार गरिने धारणा राखे ।

सो अवसरमा राजदूत ल्विनले वर्षेनी २० हजार देखि २५ हजारसम्म म्यानमारका पर्यटक नेपाल आउने गरेको जानकारी गराउँदै दुई देशबीच जनस्तरसम्म विस्तार भएको बताए ।  उनले दुई देशबीच परामर्श संयन्त्रका लागि आवश्यक पर्ने सबै तयारी आफ्नो देशका तर्फबाट पूरा गर्न पहल गर्ने बताए।  यसैबीच, परराष्ट्रमन्त्री महरासँग इण्टरनेशनल कमिटी अफ द रेड क्रस (आइसिआरसी)का नेपाल प्रमुख आन्द्रे पक्विटले शिष्टाचार भेटवार्ता गरे ।

सो अवसरमा आन्द्रेले आगामी अगष्ट २० देखि २३ सम्म नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी क्षेत्रीय सम्मेलनको विषयमा उपप्रधानमन्त्री महरालाई जानकारी गराएका उपप्रधानमन्त्री महराका प्रेस संयोजक हरि लामिछानेले बताए ।  रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.