मन्त्रिपरिषद् विस्तार भोलि मात्र हुने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरे पनि नेपाली कांग्रेसकै रामचन्द्र पौडेल पक्षले मन्त्री टुङ्गो लगाउन समय लगाएपछि बुधबार मात्र विस्तार हुने भएको हो। कांग्रेसको भागमा पर्ने १३ मन्त्रालय मध्ये पाँचमा पौडेल पक्षको दाबी छ।
बालुवाटार स्रोतका अनुसार भोलि बिहानै मन्त्रिपरिषद्को विस्तार हुनेछ। 'आज साँझ अब राष्ट्रपतिलाई पत्र पठाएर मिलाउन समय लाग्छ', स्रोतले सेतोपाटीलाई भन्यो। कांग्रेस र माओवादी गठबन्धनबीच मन्त्रालय भागवण्डा पनि टुङ्गो लागेको छ।
मंगलबार बिहान कांग्रेस नेता विमलेन्द्र निधिले आजै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए। मन्त्रिपरिषद्मा राप्रपा र संघीय समाजवादी फोरम नेपाललाई भने तत्काल सहभागि नगराउने रणनीति कांग्रेस र माओवादीले लिएका छन्। पछि सरकारमा सहभागि हुने दलहरुका लागि मन्यालय भने रिजर्भमा राखिने भएको छ।
उद्योग, वन, विज्ञान तथा प्रविधि र शान्ति मन्त्रालय रिजर्भमा राखिएको हो।
कसलाई कुन मन्त्रालय?सत्ता साझेदार नेकपा माओवादीले ९ मन्त्रालय पाउने भएको छ। हाल माओवादी केन्द्रले परराष्ट्र, गृह र सहरी विकास मन्त्रालय पाएको छ। अब थप उसले ऊर्जा, स्वास्थ्य, सामान्य प्रशासन, पशुपंक्षी, आपूर्ती र महिला तथा बालबालिका मन्त्रालय पाउने भएको छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नेतृत्व गरिरहेको विजय गच्छदारको फोरम लोकतान्त्रिकले पर्यटन र भूमीसुधार मन्त्रालय पाउने छ।
नेकपा संयुक्तले जनसंख्या तथा वातावरण मन्त्रालय पाउने भएको छ। नेकपा संयुक्तले मिथिला चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ।
नेपाली कांग्रेसले हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सहित अर्थ, श्रम तथा रोजगार, शिक्षा मन्त्रालयको सम्हालिरहेको छ। अब उसले थप भौतिक पूर्वाधार, सञ्चार, सिँचाई, रक्षा, गरिबी निवारण तथा सहकारी, खेलकुद कानुन, कृषि, वाणिज्य र खानेपानि तथा सरसफाई मन्त्रालय पाउनेछ।