व्यवस्थापिका–संसदको बैठक :बाग्लुङको जीप दुर्घटनादेखि भारत र चीनबीच सीमाना विवाद  

व्यवस्थापिका–संसदको बैठक :बाग्लुङको जीप दुर्घटनादेखि भारत र चीनबीच सीमाना विवाद  


व्यवस्थापिका–संसदको सोमबारको बैठकमा शून्य तथा विशेष समयमा बोल्ने सांसद्हरुले मुलुकका समसामयिक समस्या समाधानमा सरकार गम्भीर नदेखिएको भन्दै सभामुखमार्फत ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले उत्तरी नाकामा सिन्धुपाल्चोकमा बाढीले लाप्चा पुल भत्केको सम्बन्धमा तत्काल बेलीब्रिजको व्यवस्था गरी स्थानीयवासीको आवागमनलाई सहज बनाउन सरकारसँग माग गरे । यसका साथै, दाङको राप्ती क्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन प्रक्रिया अघि बढाउन ढिलाइ भएको भन्दै प्रश्न गरे । पोखरा–बाग्लुङ राजमार्ग ३१ मिटर फराकिलो बनाउने क्रममा केही जलविद्युत् आयोजना र क्याम्पसमा क्षति हुने भएकाले त्यसको वैकल्पिक व्यवस्था गर्न माग समेत गरे ।

भूकम्पपछि पुनर्निर्माण हुन नसकेर पुनर्निर्माण प्राधिकरणको रु ४१ अर्ब बजेट फ्रिज भएकोप्रति सरकारको ध्यानाकर्षण गरे । भारत र चीनबीचको द्वन्द्वको विषयमा सांसद्हरुले सीमाना विवादले भारत र चीनबीचको द्वन्द्वको अवस्थामा भैपरी आउने सम्भावित अवस्थाका बारेमा नेपालले केही नगरेको प्रति सजग गराउँदै सरकारले सबै दलको सहमतिमा साझा धारणा बनाउन आवश्यक रहेको बताए ।

सांसद दुलारी हरिजनले स्थानीय तहको निर्वाचनसँगै स्थानीयवासीका हकअधिकार स्थापित भए पनि दलितप्रतिको छुवाछुत कायमै रहेको भन्दै त्यस्ता व्यक्तिलाई कानूनी दायरामा ल्याउन माग गरे ।

सांसद लीलादेवी श्रेष्ठले दक्षिण सीमानामा नेपालको ६० हजार हेक्टरभन्दा बढी जमिन मिचिएको भन्दै त्यसको कुनै सुनुवाइ नभएको भन्दै सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद महेन्द्रराय यादवले राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई समर्थन दिएको १२ महीना बित्दा पनि माग सुनुवार्इ नभएको भन्दै संविधान संशोधन प्रक्रिया अघि बढाएर अविलम्ब पारित गर्न माग गरे ।

सांसद डा सुबोधकुमार पोखरेलले निर्वाचनमा धाँधली भएको सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय समितिका काम कारबाही अघि नबढेको गुनासो गरे ।

सांसद कमला विश्वकर्माले जातीय छुवाछुतका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै ऐन कानून भए पनि कार्यान्वयन नहुँदा अपराधीले प्रश्रय पाइरहेका भन्दै सरकारको ध्यानाकर्षण गराईन् ।

सांसद मीना पुनले बागलुङमा आज भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ग्रामीण क्षेत्रका साँघुरा बाटा र पुराना गाडीका कारण दुर्घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

बैठकमा सांसद लक्ष्मण राजवंशी, शारदा पौडेल, अमृतकुमार बोहरा, विशाल भट्टराई, अकवाल अहमद साहलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.