दाहालले भने–साथीहरूलाई हेडक्वाटरतिर मात्र हेरिरहने रोग लाग्यो


नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका नेता/कार्यकर्तालाई हेडक्वाटरतिर मात्र हेर्ने रोग लागेकाले त्यसको उपचार हुन जरुरी भएको बताएका छन्।

पार्टीका कार्यालय पेरिसडाँडामा सोमबार कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यको चौथो स्मृति दिवसको अवसरमा आयाजित कार्यक्रममा बोल्दै दाहालले पार्टीका नेता कार्यकर्ताले हेडक्वाटर छोडेर गाउँ र टोलतिर फर्कने बानी लगाए भने फेरि पनि माओवादी पहिलो दल बन्ने दाबी गरे।

‘चुनाव हुनुअघि कांग्रेस र एमालेका साथीहरुसँग भेट हुँदा मलाई भन्नुहुन्थ्यो गाउँमा त तपाईँहरुको उपस्थिति शुन्य छ नि’, दाहालले भने, ‘तर चुनावमा एक भएर खट्यौं र यस्तो नतिजा आयो, अझ गाउँघरमा केन्द्रीत भयौं भने हामी ठूलो पार्टी बन्छौं।’

उनले पहिले माओवादीले ध्वंसमात्र गर्छ भन्ने मान्छेको धारणामा अहिले परिवर्तन भएर माओवादीले विकास पनि  गर्छ भन्ने धारणा बनेको बताए।

‘१० महिना सरकार चलाउँदा भएको आर्थिक विकास, चीनसँगको सम्बन्ध,  उज्यालो अभियानले जनतामा माओवादीप्रति नयाँ धारणा बनाएको छ,’ दाहालले भने, ‘यही धारणालाई हामीले कायम राखेर  अघि बढ्यौं भने फेरि पनि जनताले हामीलाई पहिलो पार्टी बनाउँछन्।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.