सत्तारुढ दलका कारण राजपा धरापमा – सचिव ज्ञवाली


नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न २ नम्बर प्रदेशको निर्वाचनमा आफ्नो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले नेकपा एमाले राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताए ।

उनले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कारबाही गर्न नसकेको आरोप लगाएका छन् । उनले यस घटनामा अदालत समेत कही कतैबाट प्रभावित भैरहेको आशंका व्यक्त गरेका छन् ।

सत्तारुढ दलकै कारण समयमै मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै यो सरकारको कुनै औचित्य नभएको उनले  बताए । एमाले संविधान संशोधन विरोधी नभएको प्रष्ट पार्दै सचिव ज्ञवालीले सत्तारुढ दल एमालेसँगको सल्लाह बिनै मनोमानी रुपमा अघि बढेको बताए ।

तोकिएकै समयमा प्रदेश नं २ र अन्य दुई तहको निर्वाचन हुनुपर्ने भन्दै उनले यी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा उदाउने दाबी गरे । निर्वाचन किस्ताबन्दीमा नभई प्रदेश र संसद्को निर्वाचन एउटै समयमा गर्नुपर्ने भन्दै उनले यसका लागि एमाले तयार भएको बताए ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.