बुढाथोकीले पौडेललाई भने–म त अर्को संसदीय चुनाव लड्दिनँ तपाईँ पनि छोड्नुस्


नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ। दुबै चरणका स्थानीय निर्वाचन र समसामयिक विषयबारे बैठकमा केन्द्रीय सदस्यहरुले छलफल गरिरहेका छन्। बैठकमा पार्टी नेतृत्वको पुस्ता हस्तान्तरणका विषयमा पनि कुरा उठेको छ।

शनिबारको बैठकमा बोल्दै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई आफूहरूको उमेर अब ७० कटिसकेकाले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका थिए।

आइतबारको बैठकमा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले पौडेलको सोही कुरालाई उल्लेख गर्दै सोधे, ‘मैले गएको संविधान सभा निर्वाचनमा  झापा ५ बाट जितेपछि अब संसदको चुनाव लड्दिनँ भन्ने घोषणा गरेको छु। पौडेलजी त मभन्दा पनि जेठो हुनुहुन्छ, के तपाईँ छोड्न सक्नुहुन्छ?’

सेतोपाटीसँग कुरा गर्दै बुढाथोकीले आदर्शका कुरा गर्न सजिलो भए पनि व्यवहारमा उर्तान गाह्रो हुने भएकाले पौडेललाई आफूले त्यो कुरा भनेको बताए। ‘उहाँले चुनाव हारेपछि देउवाजी सभापति हुनुहुन्छ, पौडेलजीले अब गुटउपगुट छोडेर पार्टीमा अभिभावकको भूमिकामा रहनुभयो भने पार्टीलाई धेरै  राम्रो हुन्छ भन्ने मेरो आशय हो’, बुढाथोकीले भने।

शनिबार सुरु भएको कांग्रेस बैठक आज सकिँदैछ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.