सुवेदीको अतिरिक्त सेवातर्फको मुख्यसचिव पद खारेज


सरकारले मुख्यसचिव सोमलाल सुवेदीको राजीनामा स्वीकृत गरेको छ।

मन्त्रिपरिषद्को बैठकले यसअघि मुख्यसचिव सुवेदी एसियाली विकास बैंकमा जागिर खान गएपछि उनको पदलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त सेवा अन्तर्गत राखेको थियो।

सरकारले उनको अतिरिक्त तर्फको मुख्यसचिव पद समेत खारेज गरिदिएको छ। मुख्यसचिव सोमलाल सुवेदी साउन १ गते देखि फिलिपिन्सको मनिलामा एसियाली विकास बैंकको वैकल्पिक निर्देशक बनेका छन्।

उनको स्थानमा सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनाएको थियो। सुवेदीमाथि बढी पेन्सनको लोभमा राजीनामा नदिएको आरोप लागेको थियो।
२९ असारको संसद बैठकमा सांसदहरुले समेत दुईदुई वटा मुख्य सचिव हुने व्यवस्था कहाँ छ भन्दै प्रश्न गरेका थिए।

एमालेका रेवतीरमण भण्डारी र नेमकिपाका प्रेम सुवालले मुख्य सचिव जस्तो पदको व्यक्ति जागिर खान गएको भन्दै आलोचना गरेका थिए।

सोमलाले एक वर्ष भन्दा लामो सेवा अवधि रहेकै बेला एडिबीको जागिर रोजेपछि उनीमाथि ‘लोभी’ ट्याग लागेको थियो। उनी मुख्यसचिवबाट राजीनामा नगरी रिटार्यड भएका भए उनले झण्डै ४ हजार बढी पेन्सन पाउने थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.