स्थानीय तह निर्वाचन शीर्षकमा  छ अर्ब भन्दा बढी खर्च


निर्वाचन आयोगले स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रू‍‍. छ अर्ब ३० करोड ४६ लाख खर्च भएको बताएको छ । सरकारले स्थानीय तह निर्वाचनका लागि आयोगलाई रू‍‍. १० अर्ब २८ करोड रकम उपलब्ध गराएको थियो ।

निर्वाचनका लागि प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७३/७४ मा खर्च हुन बाँकी रहेको रू‍‍. तीन अर्ब सरकारलाई नै फिर्ता पठाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयलाई रू‍‍. तीन अर्ब १२ करोड ५१ लाख ९९ हजार र क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयलाई हालसम्म रू‍‍. एक अर्ब ३१ करोड २३ लाख ७० हजार निकासा भएको आयोगले बताएको  छ । क्षेत्रीय तथा जिल्ला प्रशासन कार्यालयलाई रू‍‍. ७६ लाख ७५ हजार र गृहमन्त्रालयलाई रू‍‍. दुई करोड ६६ लाख ५८ हजार निकासा भएको पनि आयोगले बताएको छ ।

त्यस्तै, निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचन शीर्षकमा हालसम्म रू‍‍. एक अर्ब ५५ करोड ६५ लाख ६० हजार खर्च भएको बताएको छ । निर्वाचन आयोगको केन्द्रबाट मतपत्र छपाई, मतपेटिका खरीद, मतदाता परिचयपत्र छपाइ, मतदाता शिक्षा, कर्मचारीको भत्ता, तालीम, मसी, ढुवानीलगायतका शीर्षकमा उक्त रकम खर्च भएको थियो ।

स्थानीय तह निर्वाचनका लागि भारतले केही यातायाताका साधन र चीनले विभिन्न ११ प्रकारका निर्वाचन सामग्री सहयोग स्वरुप उपलब्ध गराएको थियो । सरकारले निकासा गरेको बजेटमध्ये रू‍‍. एक अर्ब २५ करोड ४५ लाख बाँकी रहेको आयोगले बताएको छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.