काठमाडौँका सडकको दुरावस्था अन्त्य गर्न प्रधानमन्त्रीको निर्देशन


प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ उपत्यकामा जारी निर्माण कार्यमा समन्वय अपनाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री कार्यालयमा स्थानीय विकास, सहरी विकास मन्त्री सहित सचिवहरुलाई डाकेर प्रधानमन्त्रीले काठमाडौँको सडकको दुरावस्था अन्त्य गर्न निर्देशन दिएका हुन्।

काठमाडौँ उपत्यकामा एक जनाको वर्षातले आएको बाढीले बगाएको घटना सार्वजनिक भए लगत्तै प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई डाकेर छलफल गरेका हुन्। प्रधानमन्त्रीले निर्माण कार्य गर्ने ठेकेदाहरुलाई सुरक्षाको उपाय नअपनाएको विषयमा समेत मन्त्रालयहरुको ध्यानाकर्षण गराएका छन्।

‘उपत्यकाको निर्माणलाई अझ गति दिन र समन्वयात्मक रुपमा छलफल गरेर काम गर्न निर्देशन दिनुभयो’, सहरी विकास मन्त्री प्रभु शाहले भने, ‘एकीकृत प्लान बनाएर काम गर्नुस् भन्नुभयो।’

प्रधानमन्त्री देउवाले काठमाडौँको सडकको दुरावस्थाबाट उत्पन्न घटनाप्रति समेच चासो जनाएका थिए।

सडक विस्तार, मेलम्ची खानेपानीको पाइप बिच्छयाउने काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्री कार्यलायका सचिव चन्द्र घिमिरेले जानकारी दिए।

‘ढिलासुस्तीले जनजीवन कष्टकर बनाइरहेको छ’, देउवालाई उदृत गर्दै घिमिरेले भने, ‘एउटाले काम गर्ने अनि अर्कोले अर्को समयमा काम गर्ने नहोस् भन्नुभयो।’

प्रधानमन्त्री देउवाले राजधानीको काममा ‘स्पीड अप’ गर्न निर्देशन दिएका हुन्। साथै सुरक्षाको सबै उपाय अबलम्बन गर्न निर्देशन समेत दिएको घिमिरेले बताए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.