निर्वाचन क्षेत्र बढाइए हामी विरोधमा जान्छौः राजपा नेता कर्ण


राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरु निर्वाचनको विरोधी नभएको बताएका छन्। बिहीबार रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू चुनाव विरोधी नभएको स्पष्ट पारेका हुन्।

‘हामी निर्वाचनको विरोधी होईनौं, हामीले कहिल्यै पनि निर्वाचन ईन्कार गरेका छैनौं, हिजो हामी र सरकारबीच एउटा समझदारी भएको छ, उहाँहरुले दुई चारदिनभित्रै मुद्दा फिर्ता, घाईते अपाङ्ग भएकाहरुलाई भरणपोषण गर्ने, सहिद घोषणा गर्ने, र संविधान संशोधन पनि सकेसम्म पारित गर्ने वचन दिनुभएको छ, यदि यस्तो भयो भने हामी निर्वाचनमा भाग लिन्छौं।’

उनले राज्यले आफूहरुसँग माग सम्बोधन गर्ने भनेर पटक पटक सम्झौता गरेको स्मरण गराउँदै भने, ‘माग पूरा नगर्ने हो भने किन हामीसँग सम्झौता गरेको त? हुन त सरकारले हामी गर्दैछौं भनेको छ, एमालेसँग पनि वार्ता भैरहेको भनेर जानकारी गराईरहेको छ।’

त्यस्तै उनले पनि निर्वाचन क्षेत्र २४० बनाउनेबारे व्यापक चर्चा चलिरहेको कुराप्रति टिप्पणी गर्दै भने,‘अहिले ठूला दलले नाक फुलाईरहेका छन्, यदि संख्या बढाउने हो भने हामी विरोधमा जान्छौं।’ उनले आफ्नो सुविधाको लागि संख्या बढाए जनताले दण्डित गर्ने बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.