चीनलाई लक्षित गरेर भारत परमाणु हतियार बनाइरहेको छः अमेरिकी विज्ञ


परम्परागत  रुपमा पाकिस्तानलाई लक्षित गरेर आणविक हतियारको विकास गरिरहेको भारतले अब चीनलाई लक्षित गर्दै हतियारको आधुनिकीकरण गरिरहेको दुई अमेरिकी परमाणु विज्ञले बताएका छन्।

भारतीय समाचार ‘पत्र टाइम्स अफ इन्डिया’ले ‘अफ्टर मिडनाइट डिजिटल जर्नल’मा छापिएको हान्स एम क्रिस्टेन्सन र रोबर्ट एस नोरिसको लेख ‘इन्डियन न्यूक्लियर फोर्सेस २०१७’ लाई उद्धृत गर्दै दक्षिणी भारतको आधारबाट चीनका हरेक क्षेत्रमा हान्न सक्ने गरी भारतले क्षेप्यास्त्र विकास गरिरहेको समाचार लेखेको छ।

भारतले  परमाणु हतियारमा प्रयोग गर्न मिल्ने  झन्डै ६ सय किलोग्राम प्लुटोनियम तयार गरेको अनुमान गरिन्छ। त्यो परिमाण १ सय ५० देखि २ सय वटा परमाणु हतियारको लागि पुग्ने भए पनि भारतले त्यो प्लुटोनियमबाट अहिले केवल १ सय २० देखि १ सय ३० वटा परमाणु हतियार बनाएको लेखमा उल्लेख गरिएको छ।

‘आणविक हतियार बनाउँदा पहिला पाकिस्तानलाई लक्षित गर्ने भारतले अहिले गरिरहेको आधुनिकीकरणले भविष्यको चीनसँगको रणनैतिक सम्बन्धलाई महत्व दिइरहेको संकेत गर्छ,’ लेखमा भनिएको छ।

परमाणु हतियारको आधुनिकीकरण गर्ने सिलसिलामा भारतले थुप्रै नयाँ परमाणु हतियार प्रणाली विकास गरिरहेको छ। उसले अहिले ७ वटा परमाणु प्रणाली, दुई वटा हवाइजहाज र चार वटा जमिनबाट हान्न मिल्ने ब्यालेस्टिक क्षेप्यास्त्र र एउटा समुन्द्रबाट हान्न मिल्ने ब्यालेस्टिक क्षेप्यास्त्र बनाइरहेको छ।

‘अर्को दशकमा प्रयोग गर्न मिल्ने गरी थप चार प्रणाली पनि विकासको क्रममा छन्। लामो र छोटो दुरी, जमीन र समुद्रबाट हान्न मिल्ने प्रणालीको विभिन्न अवस्थामा काम भइरहेको छ,’ लेखमा भनिएको छ।

दुई लेखकले भारतको अग्नि–२ क्षेप्यास्त्रले चीनको पश्चिम, मध्य र दक्षिणी क्षेत्रमा निशाना लगाउन सक्ने उल्लेख गरेका छन्।

साथै पछिल्लो समय उसले प्रक्षेपण गरेको क्षेप्यास्त्र अग्नि–४ले उत्तरपूर्वी भारतबाट बेइजिङसहित पुरै चीनमा हान्न सक्छ। भारतले ८ हजार १ सय किलोमिटर परसम्म हान्न मिल्ने गरी अहिले अग्नि–५ क्षेप्यास्त्रको विकास गरिरहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.