चिनियाँ सेना काश्मिर पस्यो भने के हुन्छ?

चीन र भारतको सीमाक्षेत्र दोक्लम। तस्बिर स्रोत: इन्डिया टाइम्स


चीन र भारतबीच विवादित दोक्लम क्षेत्रमा तनाव बढ्दै जाँदा दुवै देशबीच ‘मिडिया वार’ जारी छ। दुवै देशका मिडियाले एक अर्कालाई दोष देखाउने र आगोमा घ्यू थप्ने काम गरिरहेका छन्।  विवादको तापक्रम बढाउने काममा चीनको सरकारी अंग्रेजी दैनिक ग्लोबल टाईम्स अग्र पंक्तिमा देखिएको छ।

केही दिनअघि सिक्किमलाई भारतको प्रान्तका रूपमा चीनले २००३ मा दिएको मान्यता पुनर्विचार गर्नुपर्छ भन्ने सम्पादकीय लेखेर तरङ्ग ल्याएको ग्लोबल टाइम्सले फेरि अर्को विवादास्पद धारणा अघि सारेको छ।

सोमबारको अंकमा ग्लोबल टाइम्सले एक जना चिनियाँ विश्लेषकको लेख छापेको छ। सो लेखमा चाइना वेष्ट नर्मल विश्वविद्यालयको भारतीय अध्ययन केन्द्रका निर्देशक लङ सिंचुनले भुटानसँग चीनको विवादमा भारतीय सेना भुटान आएर खतरनाक नजिर बसालेको टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘यदि भुटानको अनुरोधमा भारतीय सेना चीन-भुटानको विवादस्पद क्षेत्रमा छिर्न सक्छ भने, पाकिस्तानको अनुरोधमा काश्मिरमा तेस्रो मुलुकको सेना किन छिर्न सक्दैन?’

यसलाई भारतीय मिडियाले चीन-भुटानको सीमा क्षेत्र दोक्लममा विवाद जारी रह्यो भने पाकिस्तानको अनुरोधमा चीन काश्मिरमा छिर्न सक्ने चेतावनी दिएको अर्थमा ब्याख्या गरेका छन्।

पाकिस्तान चीनको भरपर्दो साझेदार हो। पाकिस्तानसँग चीनको सामरिक मात्र होइन बढ्दो घनिष्ट आर्थिक सम्बन्ध पनि छ। चीन-पाकिस्तान आर्थिक करिडोर विकासका लागि चीनले ४६ अर्ब डलर लगानी गरेको छ। यो करिडर पाकिस्तान तर्फको विवादित काश्मिर भएर चीनसम्म पुग्छ।

सिंचुनले चीन नियन्त्रित दोक्लम क्षेत्रमा भारतीय सेना भुटानको अनुरोधमा आएको कुरा पनि झुटा भएको दाबी गरेका छन्। उनले भुटानी अनुरोधको बहानामा भारतीय सेना चीनको भुभागमा छिरेको आरोप लगाएका छन्।

के हो दोक्लम विवाद?

चीनसँग सीमा जोडिएको भुटानको २६९ वर्गकिलोमिटर दोक्लम क्षेत्र लामो समयदेखि विवादित छ। यसलाई भुटान र चीन दुवैले आफ्नो भूभाग भनेर दाबी गर्दै आएका छन्। भुटानको पश्चिम-उत्तर सीमामा रहेको दोक्लम चीनको नियन्त्रणमा छ। उक्त क्षेत्रमा सडक निर्माणका लागि चीनले गत जुन १६ मा निर्माण सामग्री र गाडी पठायो। भुटानले तत्काल त्यसको विरोध गर्‍यो। भुटानी सेनाले चिनियाँ सैनिक र सडक निर्माणका लागि आएका मानिसलाई पछि हट्न भन्यो। चिनियाँ सैनिकले टेरेनन्। त्यसपछि भारतसँगको रक्षा सन्धिमा टेकेर भुटानले भारतीय सहयोग माग्यो।

भारतले आफ्ना सैनिकलाई उक्त क्षेत्रमा पठाएपछि भारत र चीनबीच पछिल्लो तानाव जारी छ।

दोक्लम क्षेत्र चीन र भुटानको सीमा क्षेत्र त हो नै, तर नजिकै भारतीय सीमा पनि छ। दोक्लमभन्दा करिब ३० किलोमिटर तल चुम्बी उपत्यकाको अन्त्यमा चीन, भुटान र भारतको सिक्किम राज्यको सीमा जोडिन्छ।

भारतीय सेना यसपालि तीन मुलुकको सीमा क्षेत्रभित्र आएको आरोप चीनले लगाएको छ। अर्कातिर यसपालि चीनलाई नरोक्ने हो भने उसले त्रिदेशीय सीमा क्षेत्रलाई झनै दक्षिणतिर धकेल्नेछ भन्ने भय भारतमा देखिन्छ।

भारतका लागि यो क्षेत्र संवेदनशील हुनुको खास कारण छ। दिल्लीलाई सिक्किमसहित भारतका सात पूर्वीउत्तर प्रान्तहरु भूमार्ग हुँदै पुग्न पश्चिम बंगालको उत्तरतर्फको सानो बाटो मात्र उपलब्ध छ। पूर्वी नेपालको सीमासँग जोडिएको यो साँघुरो बाटो ‘चिकन नेक’ अर्थात कुखुराको घाँटी उपनामले चिनिन्छ।

दैनिक आवतजावतमा यो ‘चिकन नेक’ को खासै संवेदनशीलता छैन। भारतीयहरु भने रणनीतिक हिसाबले यसलाई धेरै संवेदनशील मान्छन्। चीन-भारत सीमा क्षेत्रमा सैनिकहरुको ‘दंगल’ उपस्थिति भविष्यमा केही गरी ‘रेम्बो’ मा परिणत भयो भने यो ‘चिकन नेक’ एकाएक संवेदनशील बन्नेछ। सिक्किम, चीन र भुटानको त्रिदेशीय सीमा क्षेत्रबाट चिनियाँ सेना केही घन्टामै ‘चिकन नेक’ मा पुग्न सक्छन्। चीनले ‘चिकन नेक’ मा भारतलाई रोक्यो भने ‘मेनल्यान्ड’ भारत आफ्ना उत्तरपूर्वका सात राज्य र भुटानसँग स्थलमार्गबाट सम्पर्कविहीन हुनेछ।

सिक्किम र भारतका सात पूर्वीउत्तर राज्यहरु अरुणाञ्चल, आसाम, मेघालाय, मणिपुर, मिजोरम, त्रिपुरा र नागाल्यान्ड भारतका लागि संवेदनशील क्षेत्र पनि मानिन्छन्। सिक्किम भारतमा सन् १९७५ मा गाभिएको देश हो। ‘चिकन नेक’ बाट उत्तर पर्ने पंश्चिम बंगालको भूभाग वर्षौंदेखि गोर्खाल्यान्ड आन्दोलनले अस्थिर छ। आसाम, नागाल्यान्ड लगायत राज्यमा पनि पृथकतावादी आन्दोलन र सशस्त्र आन्दोलन जारी छ। अरुणाञ्चल प्रदेशमा चीनसँगको सीमा विवाद कायमै छ।

यी सबै कारणले दोक्लम क्षेत्रमा चीनले गर्न लागेको सडक र अन्य संरचना निर्माणले भारत सशंकित बनेको हो। दोक्लमको रणनीतिक महत्वका कारण चीनले यसलाई सामरिक क्षेत्रका रूपमा विकास गर्नेछ भन्ने भय भारतलाई छ। भारतले अर्को मुलुक भुटानसँग जोडिएको विवादमा आफ्ना सैनिकलाई चीनविरुद्ध उभिन पठाउनुको कारण यही हो।

तेस्रो मुलुकसँगको बिवादमा भारतीय सेना चिनियाँ सेनासँग आमने सामने भएपछि चिनियाँ विश्लेषक र मिडियाले अव चीन पनि कश्मिरमा पाकिस्तानलाई सघाउन स्वतन्त्र रहेको टिप्पणी गरेका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.