इलाममा पत्रकार महासंघले आयोजना गरेको कार्यक्रम कांग्रसका प्रतिनिधिद्वारा बहिष्कार

बधाईपत्र ग्रहण गर्दे नवनिर्वाचित जनप्रतिनिधि। तस्वीरः सेतोपाटी


स्थानीय तहको निर्वाचन पछिका निर्वाचित जनप्रतिनिधि कसका हुन्छन? दलका या जनताका? सहजै जवाफ छ जनताका। तर, इलाममा भने यस्तो पाइएन।

नेपाल पत्रकार महासंघ इलाम शाखाले सोमबार आयोजना गरेको नवनिर्वाचित जन प्रतिनिधिलाई शुभकामना तथा स्थानीय सरकार र सञ्चार क्षेत्रको अन्तरसम्बन्ध विषयक कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि उपस्थित भएनन्।

नेपाली कांग्रेसबाट उम्मेद्धार बनेर ३ वटा स्थानीय तहको प्रमुख पदसहित अन्य दर्जनौ सदस्य पद जितेका जनप्रतिनिधि औपचारिक कार्यक्रममा अनुपस्थित हुँदा सर्वसाधरण जनता खिन्न भएका छन्।

नेपाली कांग्रेस बाहेकका सवै पार्टीबाट उम्मेद्धारी बनेर निर्वाचित जनप्रतिनिधि कार्यक्रममा सहभागी भए। उनीहरुले पत्रकारको बधाई तथा शुभकामना थापे।

नेपाली कांग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्यले आफूलाई निम्तो आएको तर अस्वस्थ्य भएका कारणले कार्यक्रममा सहभागी हुन नपाएको जनाए। तपाईँको पार्टीबाट निर्वाचित जनप्रतिनिधिचै किन नगएका भन्ने जिज्ञासा राख्दा उनले भौगोलिक विकटताका कारण सायद नगएका होलान् भनेर जवाफ दिए।

तर, कर्मचार्यको चित्तबुझ्दो जवाफ नभएपछि पुनः सोधियो, ‘तपाईँसँग कति दिनदेखि निर्वाचित जनप्रतिनिधिको सम्पर्क छैन? उनले भने, ‘दिनै पिच्छे सम्पर्क भएको छ तर यो विषयमा कुरा भएको छैन।’

कार्यक्रममा नजानु भन्ने उर्दी थियो भन्ने हल्ला छ नि भन्ने जिज्ञासामा उनले भने, ‘यो विषयमा मलाई केही थाहा छैन,’ उनले थपे, ‘भोलि मिटिङ छ अनि थाहा हुन्छ के भएको रहेछ भन्ने बारेमा।’

कार्यक्रममा ईलाम नगरपालिकाको वडा नम्बर १२ बाट निर्वाचित नेपाली काँग्रेसका लाखमान लिम्बु, वडा नम्बर ४ का नुतन दुलाल, वडा नम्बर ३ का तिर्थ गुरुङलगायतका वडा अध्यक्ष समेत कार्यक्रममा गएनन्।

उनीहरु कार्यक्रमस्थलबाट करिब २ घन्टाको बाटो वरपरका जनप्रतिनिधि थिए।

नेपाल पत्रकार महासंघ इलाम शाखाले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसबाट विजेता बनेका जनप्रतिनिधि अनुपस्थित हुँदा नेपाल पत्रकार महासंघले भने आश्चर्य मानको छैन। शाखाकी अध्यक्ष कोकिला ढकालले भनिन, ‘उहाँहरू जनताका प्रतिनिधि भए त आईहाल्नु हुन्थ्यो नि नेपाली कांग्रेसका भएकाले होला सायद नआउनु भएको। कार्यक्रममा ढिलो निम्ता भयो कि भन्ने बारे ढकालले भनिन्, ‘२ दिनअघि औपचारिक निम्ता दिईएको थियो।’

कार्यक्रममा इलाम नगरपालिकाका मेयर महेश बस्नेतले सञ्चार क्षेत्र राज्यको अभिन्न अंगका रुपमा रहेकाले यसलाई संरक्षण गर्दै स्थानीय सरकार र स्थानीय तहसँग जोड्न निर्वाचित जनप्रतिनिधिको मुख्य दायित्व रहेको बताए।

उनले जहाँ सञ्चार क्षेत्र बाँच्छ त्यहाँ विकासको उचाइ माथि हुन्छ भन्दै अब सञ्चार क्षेत्रले पनि सरकार र स्थानीय तहलाई खबरदारी गर्नुपर्ने बताए।

कार्यक्रममा गाउँपालिका तर्फबाट सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईले इलाममा प्रशस्त प्राकृतिक सम्पदाहरु रहेकाले ती सम्पदाबाट आर्जन गर्न पूर्वाधार निर्माण आवश्यक रहेको बताए। उनले भने, ‘यसको विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्व हुन्छ।’

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष सटेन्द्र जबेगुले इलामको सञ्चार क्षेत्र र वर्तमान अवस्थाका विषयमा जानकारी गराएका थिए।

कार्यक्रममा सूर्योदय नगरपालिका उप–प्रमुख दुर्गादेवी भट्टराई स्थानीय तहका निर्वाचित प्रतिनिधिले मिडिया र स्थानीय तह एक आपसमा सहकार्य गरेर अगाडि बढाउने प्रतिबद्धता जनाएकी थिइन्।

महासंघ इलाम शाखा अध्यक्ष कोकिला ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघका तर्फबाट निर्वाचित इलामका दशवटै स्थानीय तहका जनप्रतिनिधिलाई बधाइ तथा शुभकामना दिइएको थियो।  गैसस महासंघ इलामका अध्यक्ष कमल नेपाल, स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्का, महासंघका पूर्व अध्यक्ष रोहितचन्द्र भट्टराई, संघीय समाजवादी फोरमका छिकिन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा इलामका प्रहरी प्रहरी प्रमुख शुसिलकुमार यादव, काली ध्वज गणका गणपति प्रकाश लामिछाने, जिल्ला  शिक्षा अधिकारी टंक गौतम, इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङ, नेकपा एमाले सचिवालय सदस्य गणेश बराल, प्रेस चौतारी केन्द्रीय महासचिव राजेश राई लगायतको उपस्थिति थियो।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.