संसदमा झुक्किए उपप्रधानमन्त्री गच्छदार

फाइल तस्बिर।


उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार सोमबारको संसद बैठकमा दुई पटक झुक्किएका छन्।

सोमबारको संसद बैठकमा गच्छदारले विभागीय मन्त्रीको हैसियतले स्थानीय शासन विधेयक २०७३ प्रस्तुत गर्ने कार्यसूची थियो। सो विधेयकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र डिल्लीप्रसाद काफ्लेले विरोधको सूचना दर्ता गराएका थिए। जब विधेयक प्रस्तुत गर्न उपप्रधानमन्त्री गच्छदार रोष्ट्रममा पुगे उनले पहिला सुवाल र काफ्लेका प्रश्नका उत्तर दिए। अनि विधयेक प्रस्तुत गरे।

आजै गच्छदारले विनियोजन विधेयक २०७४ मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची पनि थियो। त्यसका लागि सभामुख ओनसरी घर्तीले दोस्रो पटक गच्छदारलाई रोष्ट्रममा निम्त्याइन्।

विनियोजन विधेयकमाथिका प्रश्नको जवाफ दिन गएका गच्छदारले पहिलाकै स्थानीय शासन विधेयकका लागि तयार पारेको जवाफ पढ्न थालेपछि संसदमा एकछिन सबैजना अलमलमा परे। तर गच्छदार भने जवाफ पढिरहे।

संसदका महासचिव मनोहरकुमार भट्टराई र कार्यव्यवस्था समितिका राजन घिमिरेले रोष्ट्रम मै पुगेर सम्झाए पछि उनलाई आफ्नो गल्ती महशुस भएको थियो।

त्यतिबेला बैठकमा सहभागी सांसदहरू भने मुुसुमुसु हाँसिरहेका थिए।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.