राप्रपाको सबैभन्दा बलियो जिल्ला झापा


२०७३ फगुन ६ गते भृकुटिमण्डपमा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाअधिवेशनको उद्घाटन कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच जुहारी  चलेको थियो।

कार्यक्रममा  एमाले अध्यक्ष ओलीले  भने -अबको चुनावमा राप्रपाले एमाले बाहेक सबैलाई धक्का दिन्छ।

अोलीपछि बोल्ने पालो पाएका कांग्रेसका सभापति देउवाले अोलीलाई जवाफ फर्काए— राप्रपाले सबैभन्दा धेरै मत तपाईँकै जिल्ला झापाबाट ल्याएको छ, ख्याल गर्नुस् राप्रपाले तपाईहरुलाई नै धक्का देला।

दोश्रो संविधानसभाको निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंपछि दोश्रो धेरै मत ल्याएको जिल्ला झापा थियो। उसले काठमाडौंमा १ लाख ११ हजार मत ल्याएको थियो भने झापाबाट ५३ हजार ८ सय मत ल्याएको थियो।

दुई चरणको स्थानीय निर्वाचन परिणामपछि अोलीले भने जस्तो राप्रपा बलियो देखिएको छैन।  न त एकाध ठाँऊ बाहेक उसले कसैलाई ‘धक्का’नै दिएको छ।

तर देउवाले सचेत गराए जस्तै राप्रपा झापामा भने बलियो पार्टीका रूपमा देखिएको छ। दुई चरणको निर्वाचन हेर्दा झापा नै राप्रपाको सबैभन्दा बलियो जिल्ला देखिएको छ।

दोस्रो चरणको निर्वाचनमा राप्रपाले चार स्थानमा नगर, गाउँप्रमुख जितेको छ। त्यसमध्ये तीन स्थान झापामा मात्र जितेको छ।

पहिलो चरणको निर्वाचनमा धादिङको रुवीभ्याली गाउँपालिकामा मात्रै राप्रपा विजयी भएको थियो। दोश्रो चरणको निर्वाचनमा झापाबाहेक नेपागन्ज उपमहानगरपालिकामा समेत राप्रपा विजयी भएको  छ।

झापाको हल्दीबारी गाँउपालिकामा राप्रपाका रविन्द्र प्रसाद लिङदेन एमालेकी मञ्जु सिटौलालाई चार सय मतले पछि पारेर विजयी भएका छन् । तर यो गाउँपालिकामा राप्रपाले एउटा मात्रै वडामा विजय हासिल गरेको छ।

गौरीगञ्ज गाउपालिकामा राप्रपाका बाबुराजा श्रेष्ठले कांग्रेसकी फलवती राजवंशीलाई ३ सय १३ मतले पराजित गरेका छन। गौरीगञ्जमा गाउँपालिका प्रमुख जितेपनि राप्रपाले कुनै पनि वडाध्क्षय जित्न सकेन।

झापाकै कचनकवल गाउँपालिकामा राप्रपाका अन्जरा आलम अध्यक्षमा र उपाध्यक्षमा निमसरी राजवंशी निर्वाचित भएका छन्। यो गाउँपालिकामा भने राप्रपा तीन वडामा विजयी भएको छ।

एमाले अध्यक्ष ओलीको गृहनगर झापाको दमकको दुई वटा वडा समेत राप्रपाले जितेको छ। दमक नगरपालिकामा त राप्रपा निकटतम प्रतिद्वन्द्वी नै बनेको छ। राप्रपाले विर्तामोड नगरपालिका पनि एउटा वडा जितेको छ। तुलनात्मक रुपमा कांग्रेसको बलियो क्षेत्र मानिएको बिर्तामोडमा राप्रपाका मेयरका उमेद्वार भक्ति सिटौलाले धेरै भोट ल्याएपछि कांग्रेसका उमेद्वार  एमालेसँग पराजित भएका थिए।

झापामा राप्रपा किन बलियो?

झापामा आफ्नो पार्टीले अपेक्षा गरे अनुसारको मत आउन नसकेको राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले सेतोपाटीलाई बताए।
‘जनतामा हामीले उठाएका राष्ट्रियता,हिन्दु धर्म लगायतका विषयलाई मजबुद् ढंगले पुर्याउन सकिएन, ’ लिङदेनले भने,’ हाम्रो संगठन राम्रो भएन र अन्य ठूला पार्टीले जस्तो साधन र स्रोत पनि खर्च गर्न सकिएन, जसले गर्दा बरु हाम्रो त कम आयो।’

स्थानीय कांग्रेस तथा एमाले नेताहरु भने कमल थापा स्थानीय विकास मन्त्री हुदाँ राप्रपाका नेताहरुले भने अनुसार जिल्लामा बजेट ‘खन्याएर’ केही मत प्रभावित पारेको अारोप लगाउँछन्।

लिङदेनले भने सो अारोपको खण्डन गरे। उनी भन्छन्, ‘एमाले नेतृत्वको सरकारका पालामा हाम्रो पार्टीले स्थानीय मन्त्रालयमार्फत गरेको कामको समेत एमालेले जस लियो, हामीले त्यसको फाइदा पाएनौं।’ 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.