धनगढीमा कांग्रेसका वड १३ सय ५५ मतले अघि, भोलिसम्म परिणाम आइसक्ने


कैलालीको धनगढी उप–उपमहानगरपालिमा ७,८०८ मत गणना हुन बाँकी रहँदा नेपाली कांग्रेसका नृपबहादुर वडले अग्रता कायमै राखेका छन् । केहिबेर अघि घोषणा गरेको मत परिणाम अनुसार उनी स्वतन्त्र उम्मेदवार गोपाल हमालभन्दा १३ सय ५५ मतले अगाडि रहेका छन् । कांग्रेसका वडले ११,९३५ मत प्राप्त गरेका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार हमालले १०,५८० मत पाउँदै पछ्याइरहेका छन् । बिहानसम्म साढे ११ सय मतले अग्रता लिएका वडले पछिल्लो पटक घोषणा गरेको परिणाम अनुसार दुई सय मत थप गर्दै जित सुनिश्चित गरेका छन् । यस्तै १५ वटा वडाको मत परिणाम सार्वजनिक हुँदा नेकपा माओवादी तेस्रो स्थानमा उक्लिएको छ । माओवादीका रामसमझ रानाले ८,५०५ मत पाउँदै तेस्रो स्थान ओगट्न सफल भएका हुन्।

माओवादीका रानाले ८५०५ मत प्राप्त गर्दा एमालेका जोशीले ८४२६ मत पाएका छन् । उनीहरुबीच ७९ मतको मात्रै अन्तर रहेको छ । यस्तै, उपमेयरमा पनि कांग्रेसकै सुशीला भट्ट मिश्रले नै अग्रता लिएकी छन् । उनले हालसम्म १४,९५५ मत प्राप्त गर्दै अग्रता कायमै गरेकी हुन्। यसैगरी, एमालेकी रुक्मणी देवकोटाले १०, ९५३ मत प्राप्त गर्दा माओवादीकी शान्ती अधिकारी क्षेत्रीले ८६९९ मत पाएकी छन् । यो परिणाम ४६ हजार ५६४ मत गणना हुँदाको हो । ५४ हजार ३ सय ७२ मत खसेकोमा अब ७,८०८ गणना हुन बाँकी छ । हालसम्म गणना भएको मत अनुसार बदर मतको संख्या पनि धेरै छ । शुक्रबार ‍दिउँसो १ बजेसम्मको परिणाम अनुसार मेयरमा ३४३१ र उपमेयरमा २३६७ मत बदर भएको छ।

१९ वटा वडा रहेको धनगढीमा १५ को अन्तिम परिणाम पनि घोषणा भइसकेको छ । जसमध्ये कांग्रेसले ७ वडामा प्यानल र २ वडामा अध्यक्ष मात्र सहित ९ वडामा जित हासिल गरेको छ भने माओवादी ४ वडामा विजयी हुँदा एमाले भने २ वडामा चित्त बुझाउन बाध्य छ । अहिले ९, ११ र १२ वडाको गणना भइरहेको छ । बाँकी रहेको १० नम्बर वडाको गणना पनि आजै शुरु हुने मुख्य निर्वाचन कार्यालयले जनाएको छ । ‘सात समूहबाट भइरहेको मत गणना तीव्र भइरहेको छ । यहि गतिमा गणना हुने हो भने भोलिसम्म अन्तिम मतपरिणाम आइसक्छ ।’ मुख्य निर्वाचन अधिकृत धनसिह महराले भने। धनगढी सात नम्बर प्रदेशको एक मात्रै उप–उपमहानगरपालिका हो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.