विनियोजन विधेयकमा छलफल, खर्च कटौती प्रस्ताव प्रस्तुत


व्यवस्थापिका–संसद्को बिहीवारको बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसदद्वय डिल्लीप्रसाद काफ्ले र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलअन्तरगत बिहीवारको बैठकका निम्ति निर्धारण गरिएका नौवटा मन्त्रालयमा विनियोजित रकम घटाइयोस् भन्दै उनीहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् । सांसद काफ्लेले जनसङ्ख्या तथा वातावरण, पशुपंछी विकास, भूमिसुधार तथा व्यवस्था र वाणिज्य मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गरे ।

त्यसैगरी, सांसद सुवालले भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा समाज कल्याण, युवा तथा खेलकुद, रक्षा र वन तथा भू–संरक्षण मन्त्रालय शीर्षकको रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव पेश गरे ।

विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरुले विनियोजित बजेटमध्ये विकास बजेट ज्यादै कम खर्च भएको, सरकारको नीति तथा कार्यक्रम र राजनीतिक दलका घोषणापत्रमा उल्लिखित विकास–निर्माणका आयोजना कार्यान्वयनमा शिथिलता आएको, सुकुम्वासी समस्या समाधानमा सरकार गम्भीर हुन नसकेको, राष्ट्रिय राजमार्गको स्तरोन्नति तथा मर्मतसम्भार नहुँदा आमनेपाली समस्यामा परेका बताए । उनीहरूले भूमिहीनले जग्गा नपाएका, नारायणगढ–मुग्लिन सडक दुईवर्षदेखि मर्मत हुन नसक्दा जनताले सास्ती भोग्नुपरेको, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा प्रगति हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराए ।

प्रारम्भिक बाल विकास, शैक्षिक तालीम पनि बालबालिकाका निम्ति अपरिहार्य भएको, ज्येष्ठ नागरिकलाई बेवास्ता गर्न नहुने, आगामी वर्ष नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुद (साग ) प्रतियोगिताका निम्ति पर्याप्त रकम विनियोजन नभएको, नेपालको प्रतिष्ठा अन्तरराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न सफल क्रिकेट, तेक्वान्दोजस्ता खेलको विकासका लागि योजना नबनाइँदा खेलकुद क्षेत्र तदर्थवादमा सञ्चालन भएको टिप्पणी पनि उनीहरूले गरे।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.