छलफल नसकिएपछि राजपा नेताहरू दल दर्ता गर्न गएनन्


पार्टीको विधान लगायत विषयमा दलभित्रको छलफल नसकिएपछि राष्ट्रिय जनता पार्टी (नेपाल)का नेताहरु आज पार्टी दर्ता गर्न निर्वाचन आयोग गएनन्।

आजै निर्वाचन आयोगमा जाने तयारी भएपनि छलफल नसकिएकाले आज आयोग जान नसकिएको राजपा नेता केशव झाले सेतोपाटीलाई बताए। ‘पार्टी दर्ता गर्ने कुरामा त केही विवाद छैन तर विधान लगायतका विषयमा साथीहरूले अझै छलफल गरौं भनेपछि आज आयोग गएनौं,’ नेता झाले भने।

असोज २ गतेका लागि तोकिएको तेस्रो चरणको निर्वाचनका लागि राजपा निर्वाचन आयोगमा दर्ता हुन बाँकी छ।

तराई(मधेस केन्द्रित ६ पार्टी मिलेर राजपा बने पनि यो पार्टी दर्ता भएको थिएन। संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि लगायत माग पूरा नभएको भन्दै राजपाले पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचन बहिष्कार गरेको छ। राजपाको आन्दोलनलाई नै ध्यानमा राखेर प्रदेश नम्बर २ को निर्वाचन पूर्वनिर्धारित असार १४ बाट असोज २ गतेलाई सारिएको छ।

संविधान संशोधन लगायत माग पूरा नभए तेस्रो चरणको निर्वाचनमा पनि भाग नलिने राजपा नेताहरुले चेतावनी दिँदै आएका छन्।

वैशाख ७ गते तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टी एकता भएर राजपा बनेको थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.