अन्यत्र विजयोत्सव, शून्य मतदान भएको तिंला भने सुनसान

अन्यत्र विजयोत्सव, शून्य मतदान भएको तिंला भने सुनसान


सोलुखुम्बुका एक नगरपालिका र सात गाउँपालिकामा रहेका ५२ अाेटा वडामध्ये ५१ अाेटा वडामा जनप्रतिनिधि निर्वाचित भएर विजयोत्सव मनाउँदै पदभार बहाली गरिरहँदा नेचा सल्यान–६ तिंला भने सुनसान भएको छ । अन्य ५१ वडामा अध्यक्षसहित जनप्रतिनिधिले काम नै शुरू‍ गरिसक्दा तिंलामा पुनः निर्वाचन नहुने कुराले स्थानीय निराश बनेका छन् ।

स्थानीय निकाय पुनःसंरचना आफूहरु अनुकूल नभएको भन्दै गत फागुन अन्त्यदेखि नै आन्दोलनमा रहेका साविकको तिंला गाविसवासीले नो भोट, नो क्यान्डिडेट आन्दोलनअन्तरगत  कोही उम्मेदवार पनि बनेनन् र कसैले मतदान पनि गरेनन् ।

गत बुधवार  भएको निर्वाचनमा नेचा सल्यान–६ अर्थात् साविककाे  तिंलामा थपिएका पाँच मतदान केन्द्रका मतपेटिका रित्तै भएपनि दुई हजार ४ सय ७८ मतदातामध्ये कोही पनि मतदान केन्द्रमा गएनन् । आफुहरुलाई सोलुदूधकुण्ड नगरपालिकामा समाहित गर्नुपर्ने माग गरेका उनीहरु अहिले अन्य वडामा विजयोत्सव मनाएको र जनप्रतिनिधिले काम गरेको हेरेर बस्न बाध्य छन् ।

सङ्घर्ष समितिका सदस्य एवम् नेपाली काँग्रेस तिंला गाउँपार्टीका सभापति नैनसिंह कार्की आफूहरुको माग पूरा नभएमा प्रदेश र केन्द्रको निर्वाचन पनि बहिष्कार गर्ने बताउँछन् ।  निर्वाचन आयोगले भने सो गाउँपालिकाको अन्य सबै वडामा निर्वाचन सम्पन्न भएको भन्दै अब तिंलामा निर्वाचन गर्न कानूनी रूपमा नै त्यस्तो कुनै व्यवस्था नभएको बताएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले कुनै पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भए निर्वाचन हुनसक्ने कानूनी व्यवस्था भएको भएपनि कुनै एक वडामा निर्वाचन नहुँदा पुनः निर्वाचन गर्ने भन्ने कानूनमा नै उल्लेख नभएको बताए । ‘कुनै स्थानीय तहको प्रमुख वा उपप्रमुख नै रिक्त रहने अवस्था भएको भए पुनः निर्वाचन हुन्थ्यो त्यो अवस्था छैन,’ प्रवक्ता शर्माले भने ।

आयोगले सो वडामा पुनः मतदान नहुने बताएकाले अब जनप्रतिनिधि नभएको वडामा जनप्रतिनिधिको काम कसरी सम्पन्न हुन्छ भन्ने अन्योल बढेको छ । निर्वाचनसम्बन्धी कानूनमा स्थानीय तहका प्रतिनिधि रिक्त भए मात्र निर्वाचन हुने उल्लेख छ । तर निर्वाचन बहिष्कार गरेका कारण पद रिक्त भए पुनः निर्वाचनको व्यवस्था भने कानूनमा नभएका कारण यथा अवस्थामा निर्वाचन असम्भव रहेको आयोगको भनाइ छ ।

नेचा सल्यान गाउँपालिकामा भने जनप्रतिनिधिले काम शुरू‍ गरिसकेका छन् । नवनिर्वाचित प्रमुख डुफकुमार बास्तोला जनताले निर्वाचनमा सहभागिता नजनाए पनि जनतासँगको सल्लाहमा कसरी अघि बढ्ने भन्ने निर्णय लिइने बताउँछन् ।

उनका अनुसार पार्टी केन्द्रसँगको समन्वयमा तिंलावासीका माग सम्बोधन गर्ने विषयमा छलफल शुरू‍ भइसकेको छ । करीब चार महीना आन्दोलनमा रहेका तिंलावासीको काम भने नेचा सल्यान गाउँपालिकाअन्तरगत  नै भइरहेको छ । विभिन्न योजना कार्यान्वयन नेचा सल्यान गाउँपालिकाकै लेटरप्याड र छाप प्रयोग गरेर गरिँदै आएको छ भने यस अवधिमा नागरिकता बनाएकाले पनि नेचा सल्यान–६ ठेगाना राखेर नै बनाएका छन् ।

नागरिकहरुलाई असहज हुने कुरा गर्दा सङ्घर्ष समितिका संयोजक बालकुमार कार्की अहिले केही समय समस्या झेल्नु परेपनि पुस्तौँको समस्या समाधानका लागि आफूहरु पछि नहट्ने बताउँछन् ।  यो केन्द्रीय समस्या भएकाले आफूहरुको मागका बारेमा केन्द्रमा जानकारी पठाउनुभन्दा अरू काम गर्न नसक्ने प्रजिअ उमेश पाण्डेले  बताए ।  सङ्घर्ष समितिका संयोजक कार्की आफूहरुले विभिन्न दलका मुख्य नेतृत्व र विभिन्न मन्त्रीलाई समेत ध्यानाकर्षण गराएको भएपनि कतैबाट स्पष्ट जवाफ नआएको बताउँछन् ।  रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.