नेपालगन्जमा राप्रपाको विजय जुलुसमा घन्कियो – ‘हिन्दू–मुस्लिम भाइभाइ, धवलशमशेर हाईहाई ’


मुस्लिम समुदायको बाहुल्यता रहेको शहर नेपालगन्जको मेयरमा हिन्दु राष्ट्रको पक्षधर पार्टीका उम्मेदबार धवलशमसेर राणा निर्वाचित भए।

नेपालगन्जको मतपरिणाम राप्रपाका लागि देशभरमै सबैभन्दा उत्साहजनक थियो।

राप्रपाले ब्यापक तयारीका साथ नेपालगन्जमा भब्य विजय जुलुस निकाल्यो।  विजयी जुलुसमा राप्रपाका कार्यकर्ताहरुको नारा थियो  ‘हिन्दू–मुस्लिम भाइभाइ, धवलशमसेर हाईहाई।’

करिब  ६२ हजार मतदाता रहेको नेपालगन्जमा करिब २८ प्रतिशत मतदाता मुस्लिम छन्।

आफ्ना निकटतम प्रतिद्धन्दी भन्दा ३ हजार ७ सय ८५ मतको फराकिलो  अन्तरले मेयरमा बिजयी राणाको पार्टीले नेपालगन्जका २३ मध्ये तीन वटा वडा पनि जित्यो।

राप्रपाले जितेका तीन मध्ये दुई वडाअध्यक्ष मुस्लिम समुदायका नेता छन्।

नेपालगन्जको ३ र ४  नम्बर वडाबाट अध्यक्षमा जितेका मुस्लिम वडा अध्यक्ष वडा नम्बर ४ का सफिक बेहना र वडा नम्बर ५ का कैफुलवरा अन्सारी पनि ढाका टोपी लगाएर मेयर राणासँगै र्‍यालीमा सहभागी भए। र नारा घन्किए-‘हिन्दू–मुस्लिम भाइभाइ, धवलशमसेर हाईहाई।’

हिन्दु मुस्लिम दुबै समुदायको  विश्वास र मत पाएर मेयरमा निर्वाचित राणाको विजयी जुलुसमा लागेको नाराले नेपालगन्जको सामाजिक र धार्मिक सदभावलाई बढाउन निक्कै ठूलो भूमिका निर्वाह गरेको छ।

मेयरमा निर्वाचित धबलले सुन्दर, सफा र सदभावपूर्ण नेपालगन्ज बनाउने अठोट व्यक्त गरेका छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.