धरान उपमहानगरमा रोकिएको मतगणनाका लागि बिहान ७ बजे बैठक


धरान उप–महानगरपालिकामा रोकिएको मतगणना बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मात्र सुरु हुने भएको छ।

प्रमुख निर्वाचन अधिकृत जयप्रसाद महतले सेतोपाटीलाई दिएको जानकारी अनुसार सबै दलहरुबीच मंगलबार बिहान बसेर विवाद टुँग्याउने विषयमा सहमति बनेको छ। ‘बिहान ७ बजे बैठक बसेपछि मात्र थाहा हुन्छ, कतिबेलादेखि मतगणना गर्ने भनेर,’ उनले भने।

मत गणनामा खटिएका कर्मचारीले मत गणनापछिको नतिजा राम्रोसँग राख्न नसकेपछि सोमबार राती १० बजे विवाद उब्जिएको थियो।

मत गणनाको नतिजा फारममा सार्ने क्रममा गल्ती भएपछि माओवादी केन्द्रका कार्यकर्ताहरुले विरोध गर्दै तत्कालै मतगणना रोक्न माग राखेका थिए। माओवादीले निर्वाचन अधिकारीकै मिलेमतोमा नेकपा एमालेलाई जिताउन खोजिएको भन्दै यसको विरोध गरेको थियो।

मतगणना रोकिदा एमाले ७ हजार ८२ मत प्राप्त गर्दै अग्रस्थानमा छ। नेपाली कांग्रेसको ५ हजार ८ सय ८२ मत छ भने माओवादीले ३ हजार ४ सय ३५ मत प्राप्त गरेको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.